साहित्य

लेखक खनालको ‘पिनासको वैज्ञानिक कथा’ प्रकाशित

काठमाडौँ । ‘लेखक महेश्वर खनालको पिनासको वैज्ञानिक कथा’ प्रकाशित भएको छ । रुढीवादीभन्दा पृथक् रहेर घरमा बसी आफैँले योगासन, जडीबुटी एकुप्रेसर र खानपानको माध्यमबाट उपचार गर्न सकिने तरिकाबारे प्रकाशित पुस्तिकामा उल्लेख छ ।

उक्त पुस्तिकामा पिनास लागेका बखत झारफुकमा भरपर्नु र एलोप्याथिक औषधि प्रयोग गर्नुभन्दा ताजा खाना तथा सागसब्जी, भिटामिन ‘ए’ युक्त खानेकुरा भुइँकटहर, लसुन, बेसार, अदुवा, मेथी, कालो जिरा तथा कालो मरिच दालचिनीजस्ता पदार्थ मात्रा मिलाएर प्रयोग गर्न र क्याफिनयुक्त पदार्थ भएका चिया र कफी, बरफ, कोल्डड्रिङ्सजस्ता पेय पदार्थ र दूधबाट बनेका खानेकुरा, तथा नसालु पदार्थ, तारेका, भुटेका र पोलेका खानेकुृरा नखान सुझाव दिइएको छ ।

त्यस्तै जलनेती गर्न र जडीबुटी राखेर बाफ लिन वा एकुप्रेसर रिफ्लेक्सोलोजी र सुजोकजस्ता शरिरका विभिन्न भागमा थिचेर उपचार गर्न सुझाव दिइनाका साथै जानुर्शीषासन, मर्धमच्छेन्द्रासन धनुरासन, चक्रासन, सलभासनजस्ता १० वटा आशनलाई प्रयोगमा ल्याउन सकिनेबारे पनि सो पुस्तिकामा चर्चा गरिएको छ । चवन्न पृष्ठको सो पुस्तिकाको मूल्य रु ४० पर्छ ।

लेखक खनालले यसअघि ‘असल विद्यार्थी बन्ने शुत्रहरु’, ‘चालिसा संग्रह’, ‘हनुमान चालिसा’ (अंग्रेजीमा अनुवाद) का साथै दुई दर्जनभन्दा बढी पाठ्यपुस्तक प्रकाशित गरिसकेका छन् ।