खेलकुद

विजेश्वरी टिम च्याम्पियन

काठमाडौँ । विजेश्वरी ज्ञान मन्दिर सैनिक आवसिय महाविद्यालयले दसौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र ४ कांस्य जित्दै विजेश्वरी समग्रमा टिम च्याम्पियन बन्यो ।
बुढानीलकण्ठ ५ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोश्रो भयो । तेश्रो भएको इन्साइट भिजनले ४ स्वर्ण र १ रजत हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २० हजार र ९ हजार नगद पुरस्कार हात पारे ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वानदो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । एथलेटिक्समा विजेश्वरी पहिलो, बुढानीलकण्ठ दोश्रो र इन्साइट भिजन तेश्रो भए । भलिबलको छात्रमा थ्री स्टार पहिलो, गीताञ्जली दोश्रो र नेपाल राष्ट्रिय विद्यालय तेश्रो भए । छात्रामा न्यु डायमन्ड एकेडेमी पहिलो, विजेश्वरी दोश्रो र सेन्ट डेभिस तेश्रो भए ।
कबड्डीको छात्रमा भीमेश्वरले स्वर्ण, हार्टल्यान्डले रजत र रिपु मर्दिनीले कांस्य जिते । छात्रामा विजेश्वरी विजेता, कन्या मन्दिर उप विजेता र जनसेवा तृतीय बने । करातेमा सरस्वती पहिलो, बाल वाटिका दोश्रो र मानसिंह तेश्रो स्थानमा रहे । उसुमा बलम्बु पहिलो, ग्रिनफिल्ड दोश्रो र सनसाइन तेश्रो भए । तेक्वान्दोमा ३ स्वर्ण जितेको विजेश्वरी टिम च्याम्पियन बन्यो । बर्नहार्ट दोश्रो तथा ज्ञानोदय तेश्रो भए ।
विजेतालाई प्रदेश सांसद कुसुमकुमार कार्की, बुढानीलकण्ठका मेयर उद्धवप्रसाद खरेल, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, कार्यालय प्रमुख लीलाराम बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २५ विद्यालयका १ हजार २ सय खेलाडी सहभागी थिए ।