अन्तर्राष्ट्रिय

भ्रष्टाचारको दलदलमा विश्वका नेता

काठमाडौँ । विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खवर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खवरहरु बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने दुर्भाग्य अवश्य हो ।

विश्व वैंकको एक तथ्यांकअनुसार हरेक वर्ष एक खर्ब अमेरिकी डलर भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ । अझ जर्मनीको पसाओ विश्वविद्यालयको तथ्यांकले यस अवस्थालाई थप भयावह रहेको देखाएको छ । सो विश्वविद्यालयका अनुसार हरेक वर्ष संसारको कुल ग्राहस्र्थ उत्पादनको १२ प्रतिशत अर्थात चार खर्ब डलर भ्रष्टाचारको कारण अपचलन भइरहेको छ । त्यसैगरी ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार संसारका सरकारको सार्वजनिक खरिदको प्रक्रियामा हरेक वर्ष चार सय विलियन अमेरिकी डलर भ्रष्टाचार भइरहेको छ ।

यसरी भ्रष्टाचार बढ्दै जानुको पछि परिवार तथा नातेदार र आफ्नो व्यवसायको प्रभाव, देशको राज्य संयन्त्रको अवस्था, राजनीतिक प्रतिशोध र सामाजिक मूल्य मान्यताका कारण शक्तिशाली हुने गरेको पाइएको छ । दण्ड सजाय भोगेका अधिकांश विशिष्ट वास्तबमै दोषी होलान् भने केही व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको पनि हुनसक्ने देखिन्छ ।

भ्रष्टाचारका कारण राष्ट्रपति र प्रधानमन्त्री अपदस्थ हुनेमा अधिकांश अल्पविकसित तथा विकासशील देश रहेका छन् । भ्रष्टाचारी मानिएका विश्वका सबै शक्तिशाली व्यक्तिको विवरण पेश गर्न सम्भव नभएपनि पछिल्ला केही वर्षमा भ्रष्टाचारको अभियोगमा जेलजीवन बिताउन वा पदत्याग्न बाध्य केही शक्तिशाली पात्रको यहाँ चर्चा गरिएको छ ।

पहिलो महिला राष्ट्रपतिलाई २४ वर्ष जेल, अर्का पनि अभियुक्त
दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइयो र पछि अदालतले दोषी ठहर गर्दै २४ वर्षको जेल सजाय भएको छ । केही दिन अगाडिदेखि उनको अहिले २४ वर्षे जेल जीवन सुरु भएको छ । ६५ वर्षीया पार्कलाई अदालतले दोषी ठहर गरेपछि गत सन् २०१७ को मार्चमा हिरासतमा लिइएको थियो ।

अदालतले पार्कमाथि लागेका १८ मध्ये घुषखोरी, शक्तिको दुरुपयोग, राज्यको गोप्य सुचना चुहावटलगायत १६ वटा अभियोगमा दोषी ठहर गरेको छ । अदालतले पार्कलाई एक करोड ६८ लाख अमेरिकी डलर जरिवाना पनि तोकेको छ । तर उनले भने अदालत पूव्राग्राही भएको भन्दै सुनुवाई बहिस्कार गर्दै आफूमाथि लागेका सवै आरोप अस्विकार गर्दै आएका छन् । दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने पार्क गुउन हाइ पहिलो महिला भएपनि दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा भने उनी तेस्रो राष्ट्रपति हुन् । उनीपछि अर्का पूर्वराष्ट्रपति लि म्युङ बाकलाई पनि भ्रष्टाचार, कर छली र सार्वजनिक स्रोत, साधन र शक्तिको दुरुपयोगको अभियोगमा पक्राउ गरिएको छ । यस विषयमा अनुुसन्धान सुरु भएको छ ।

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिद्वारा पदत्याग

सन् २००९ देखि भ्रष्टाचारको आरोप खेपिरहनु भएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले अन्तः सन् २०१८ मा पद त्याग गर्नुपरेको छ । छ जनासँगको विवाह गरी २१ छोराछोरीका पितासमेत रहेका जुमाले १४ फेब्रुअरी २०१८ मा राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । आफ्नै पार्टी अफ्रिकन नेसनल कंग्रेस (एनएसी)ले भ्रष्टाचारको आरोप लागेपछि पद छाड्न वा अविश्वासको प्रस्ताव सामना गर्न दवाव दिएपछि उनले पद त्याग्नुपरेको थियो ।

आफ्नै कार्यकालका उपराष्ट्रपति सिरिल रामाफोसालाई राष्ट्रपति बनाउन आफ्नै दलका नेताहरुले आफूलाई भ्रष्टाचारको आरोप लगाएर पद त्याग्न बाध्य पारेको जुमाले बताउदै आएका छन् । ७५ वर्षीय जुमाले आफू भ्रष्टाचारी नभएको दावी भने गरिरहेएका छन् ।

भ्रष्टाचार विरोधी भनिएका सरिफ नै अभियोग खेप्दै

झण्डै चार वर्षअघि तेस्रोपटक प्रधानमन्त्री पद सम्हाल्दै पाकिस्तानलाई ‘एसियाको टाइगर’ बनाउने घोषणा गरेका नवाज सरिफ आफै भ्रष्टाचारको आरोपमा निकालिएका छन् । आर्थिकरूपमा सबल पारी एसियाकै उत्कृष्ट मुलुक बनाउने योजना पूरागर्न ‘भ्रष्टाचार’मुख्य बाधक रहेको बताउने सरिफ आफै भ्रष्टाचारको महाअभियोगमा परे । पाकिस्तानको ठूलो स्टिल कम्पनी ‘इत्तेफाक’का मालिकसमेत रहेका सरिफमाथि पदीय दुरुपयोग गर्दै आफ्नो कम्पनीलाई फाइदा दिलाएको र सरकारी स्रोतमा अनियमितता गरेको आरोप थियो । पानामा पेपर्स् नामक एक विश्वचर्चित भ्रष्टाचारसम्वन्धी खोजीले उनलाई पनि दोषी देखाएको थियो । पछि अदालतले नै उनलाई दोषी ठहर्याएपछि उनले सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिए । ६७ वर्षीय सरिफलाई पाकिस्तानको सर्वोच्च अदालतले केहीदिन अगाडी मात्रै आजिवन निर्वाचन लड्न नपाउने फैसला सुनाएको छ ।

बङलादेशमा जियालाई पाँच वर्ष काराबास

बंगलादेशमा विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । ७२ वर्षिया जियाले अनाथ बच्चाका लागि विश्वभरबाट उठेको रकम मध्ये झन्डै साढे दुई करोड रूपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको छ । उनले आफूविरुद्धका आरोपहरु राजनीतिकरुपमा प्रेरित रहेको दाबी गरेका छन् । उनलाई यहीवर्ष हुने संसदीय चुनावमा लड्न प्रतिबन्ध लागेको छ । प्रधानमन्त्री शेख हसिना वाजेदसँग दशकौंदेखि राजनीतिक प्रतिद्वन्द्वीका रुपमा रहेकी जिया सन् १९९१ देखि १९९६ र २००१देखि २००६ सम्म गरी दश वर्ष बंगलादेशको प्रधानमन्त्री बनेका थिए । अहिले बंगलादेशको प्रतिपक्षी दल बंगलादेश नेसनालिस्ट पार्टीकी नेता रहेकी जियालाई अदालतको फैसलालगत्तै पक्राउ गरी जेल चलान गरिएको छ ।

ब्राजिलका लोकप्रिय नेता नै जेलमा

ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति लुइन इनासियो लुला दा सिल्भालाई भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैँद सजाय फैसला सुनाएको छ । लुलाले चाहिँ आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमा नबस्ने दलिल पेस गरेका छन् । अदालतको फैसलाले आगामी अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई नै प्रभावित पारेको छ । चुनावबाट बञ्चित गर्न आफूविरुद्ध राजनीतिक प्रतिशोधले मुद्दा लगाइएको ७२ वर्षीय लुलाले दाबी गर्दै आएका छन् । ब्राजिलमा उनको सहभागीता वा सहमति विना निर्वाचन असंभव जस्तै रहेको बताउने गरिएको छ ।

पेरुका पूर्वराष्ट्रपतिलाई देश छोड्न बन्देज

पेरुका पूर्वराष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई कम्तीमा १८ महिना देश छोड्न प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको हो ।

ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेचसँग घुस लिएको र अनियमितता गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । पूर्वराष्ट्रपति पेड्रोलाई लिमामा रहेको उनको निवासस्थल र देशको ग्रामीण क्षेत्रमा पर्ने सिएनेगुल्लामा नै नजरबन्द गरिएको छ । पेरुको संसद्मा आफूविरुद्धको महाअभियोग प्रस्तावमा मतदान हुन लागेपछि ७९ वर्षीय पेड्रोले पदबाट राजिनामा दिएका थिए ।

अरु कैयौँ नेता पनि भ्रष्टाचारी ठहर

अरु धेरै देशमा पनि शक्तिशाली पात्र भ्रष्टाचारको आरोप लगेर राजनीतिक जीवनबाट हात धुनुपरेको छ । क्रोएसियामा सन् २००३ देखि २००९ सम्म प्रधानमन्त्री बनेका इभो सानाडर सन् २०१० मा भ्रष्टाचारको आरोपमा गिरफ्तार भए । सन् २००५ देखि २०११ सम्म प्रधानमन्त्री बनेका पोर्चुगलका समाजवादी नेता जोसे सोक्रेट पनि जीवनको अन्तिम समयमा आएर भ्रष्टाचारी कहलिनुप¥यो । लामो समयको अनुसन्धानपछि सन् २०१७ को अक्टोबरमा उनीविरुद्ध अपराध, सम्पत्तिको अपचलन, कर छली, कागजपत्रहरुको दुरुपयोगलगायतका ३१ ओटा मुद्दा लगाइयो । रोमानियाका पूर्वप्रधानमन्त्री अड्रिन नास्तासलाई सन् २०१२ मा साढे चार वर्षको जेल सजाय तोकिएको थियो । उनी सन् २००० देखि २००४ सम्म प्रधानमन्त्री बनेका थिए । त्यसैगरी पेरुका अल्बेरर्टो फुजिमोरी र ओल्लान्ता हुमाला, इजरायलका इहुड अल्मर्टले पनि भ्रष्टाचारको अभियोगमा सजाय भोगेका छन् । सर्बिया, मन्टेनेग्रो, मोल्डोभा, ग्वाटेमाला लगायतका देशका पूर्वप्रधानमन्त्री वा राष्ट्रपति पनि भ्रष्टाचारको सजायमा छन् ।