खेलकुद

प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’: मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताएका छन् ।

इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आज बधाई तथा शुभकामना दिँदै मन्त्री विश्वकर्माले खेलाडीेले उच्च मनोबलका साथ खेल खेल्नुपर्नेमा जोड दिए ।

एशियाली खेलमा पहिलो पटक समावेश भएको प्याराग्लाइडिङ खेलले राष्ट्रको प्रतिष्ठामाथि उठाउनेमा आफू ढुक्क रहेको बताउँदै उनले यो ऐतिहासिक अवसरलाई राष्ट्रको गरिमा बढाउने गरी खेलाडीलाई प्रदर्शन गर्न आग्रह गरे ।

अठारौँ एशियाली खेलमा जाने अफिसियललाई कडाइका साथ नियन्त्रण गर्ने बताउँदै मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गरी देशको प्रतिष्ठालाई उच्च राख्ने खेलाडीलाई सम्मान गरिने जानकारी दिए ।

सो प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपालका तर्फबाट दुई उपविद्यामा १० जना खेलाडीले तीन मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक १८औँ एशियाली खेलकूदमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा करीब ३० भन्दा बढी राष्ट्रको सहभागिता रहने बताइएको छ ।

ग्रामीण क्षेत्रमा खेलकूद गतिविधि बढाइने

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलकूदका गतिविधि ग्रामीण क्षेत्रमा विस्तार गरिने बताएका छन् ।

कास्कीको पर्यटकीय गाउँ धम्पुसमा लाली गुराँस युवा क्लबद्वारा आयोजित गन्तव्य धम्पुस महोत्सवको शनिबार समापन समारोहमा बोल्दै उनले ग्रामीण क्षेत्रमा रहेका खेलमैदानको स्तरोन्नति मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिए ।

मन्त्री विश्वकर्माले महोत्सवमा आयोजित विभिन्न खेलकूद प्रयोगितामा विजयी टोली तथा खेलाडीलाई नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गरेका थिए । महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगतामा संगम युवा क्लब गल्कोट बाग्लुङले हात पार्दै नगद एक लाख, मेडल भने माछापुछ्रे गाउँपालिका–२ भुर्जङखोलाले दोस्रो स्थान हासिल गर्दै नगद ७० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

महिला भलिबल प्रतियोगितातर्फ टप्स उच्च मावि प्रथम, माछापुछ्रे गाउँपालिका–८ ल्वाङ द्वितीय भई नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा धम्पुसका पर्यटन व्यवसायी दलबहादुर गुरुङ, लालीगुराँस युवा क्लबका संस्थापक अध्यक्ष समबहादुर गुरुङ, क्लबका अध्यक्ष आसिम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।