राजनीति

आज एमाले माओबादी एकता हुने, कम्युनिष्ट पार्टीको स्थापना दिवस समेत मनाइने

काठमाडौँ । नेकपा (एमाले) का नेता केशव बडालले एमाले र नेकपा (माओवादी केन्द्र)ले आइतबार संयुक्त रुपमा कम्युनिष्ट पार्टीको एकता हुने र आजको दिनलाई नै मानेर स्थापना दिवस मनाउने बताएका छन् ।

शनिबार काठमाण्डौमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमाले–माओवादी केन्द्रबीचको एकता नचाहने शक्तिहरु चलायमान भएको भए पनि त्यो पूरा नहुने बताए । नेता बडालले वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि समय अभावका कारण केही दिन पछि धकेलिएको बताए ।

मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधिनताको पक्षमा प्रधानमन्त्री दृढ रहेको उल्लेख गर्दै उनले अहिले प्रधानमन्त्रीको कामको विरोध गर्नेभन्दा प्रशंसा गर्ने धेरै भएको बताए ।

भारत र चीन नेपालका लागि दुवै अनन्य मित्र रहेकोले दुवै देशसँग पारस्परिक रुपमा सम्बन्ध अघि बढाउन प्रधानमन्त्री ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले भने, “विगतमा नेपाल–भारतबीच कर्मचारीस्तरमा सम्बन्ध थियो, तर अहिले राजनीतिक तहबाटै सम्बन्ध अघि बढेको छ ।”

नेपाली काँग्रेसका नेता रमेश लेखकले केन्द्र तथा प्रदेशमा काँग्रेसले प्रतिपक्षमै बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताए । वर्तमान सरकारका नीतिहरु हेरेर ठिक छ भने सहयोग गर्ने र गलत छ भने विरोध गरिने उनको भनाइ थियो ।

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि सञ्चालन हुने जानकारी गराउँदै उनले बैठकमा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको कारणबारे सुक्ष्म ढंगले विश्लेषण हुने बताए ।

केन्द्रीय कार्यसमिति बैठकले सबैको भावनालाई सम्बोधन गर्ने हुँदा त्यसपछि काँग्रेस एक ढिक्का हुने विश्वास व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएकोले पार्टीको संगठनात्मक ढाँचामा अघि बढाउने बताए।