समाचार

बम विष्फोटन गराउने सामग्रीसहित विप्लव माओबादीका दुई कार्यकर्ता पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी गराइएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका–१० निवासी विप्लव समूहका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २२ वर्षीय राजन बस्नेत र सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका– ७ बस्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन सिन्धुलीका जिल्ला अध्यक्ष २० वर्षीय पूर्णबहादुर भुजेललाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक विनोद शर्माले जानकारी दिए ।

पक्राउ गरिएकामध्ये बस्नेत यस भन्दा अगाडि चन्दा संकलन मुद्दामा पक्राउ परी अदालतबाट रु दुई हजार धरौटी राखी तारेखमा छुटेका हुन् ।
उनीहरुको साथबाट जिलेटिन –नियोजेल ९०० ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३८०० नगद, बा ३८ प ४२८६ नम्बरको कालो रंगको पल्सर र क्यानखोला नियन्त्रण उपभोक्ता समिति, सिन्धुली लेखिएको स्ट्यामप्याड छाप एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

विष्फोटन समानमासहित विप्लवका कार्यकर्ता पक्राउ गर्न सफल प्रहरी टोलीलाई आफूले हिजैराति कार्यालयमा आउनासाथ पुरस्कृत गरेको पनि शर्माले जानकारी दिए ।

गत चैत १९ गते राति धरान चतारा सडक निर्माणमा प्रयोग गरिएका कालिका कन्ट्रक्सनका पार्किङ गरी राखिएका सवारीमा आगलागी र बम विष्फोट गराई रु तीन करोड भन्दा बढीको क्षति गरेपछि अहिले त्यस क्षेत्रमा विशेष प्रहरी परिचालन गरी विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको समेत उनले जानकारी दिए ।

विप्लव माओवादीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए ।