साहित्य

साहित्यकार स्व प्रधानको कृतित्वबारे बृहत् छलफल

काठमाडौं । साहित्यकार स्व कृष्णचन्द्रसिंह प्रधानको व्यक्तित्व र कृतित्वबारेमा विहिबार एक बृहत् छलफल कार्यक्रमको आयोजना गरियो ।

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयद्वारा आयोजित ‘सिर्जना संवादमा कृष्णचन्द्र सिंहका निबन्ध’ शीर्षक पाठकीय अन्तक्र्रियात्मक कार्यक्रमका वक्ताहरुले स्व प्रधानले निबन्ध र समालोचना विधामा पु¥याउनुभएको योगदानको बृहत् चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा पहिलो मदन पुरस्कार प्राप्त व्यक्तित्व इतिहासकार चित्तरन्जन नेपालीले स्व प्रधानले स्कूल कलेज नदेखेको भए पनि साहित्यमा आफूले दिनुपर्ने योगदान पूर्णरुपमा दिन सफल भएको बताए ।

उनले आफूहरुको संगत २००१÷००२ सालदेखिकै भएको र प्रधानको मृत्यु नहुञ्जेल सम्बन्ध अटुट रहेको स्मरण गरे ।

अर्का वक्ता डा तुलसी भट्टराईले स्व प्रधान वास्तविक विद्रोही भएको र साहित्य सेवा गर्नुका साथै वैचारिक रुपमा दृढ भएको बताए । उनले स्व प्रधानबारे खोजी गर्दा परिवारले भने पछिल्लो पटक असहयोग गरेको गुनासो गरे ।

स्व प्रधानको पछिल्लो कृति ‘कृष्णचन्द्रसिंहका निबन्धहरु’का सम्पादक प्रा डा गोविन्दराज भट्टराईले पछिल्लो समयमा उनीसंग आफ्नो नजिकको संगत हुन पाएको बताउँदै उनको पछिल्लो कृति उनका निबन्धमा ‘मास्टरपिस’ भएको उल्लेख गरे । उनले ८० वर्षको उमेरमा पनि निबन्ध लेख्नुभएको र साहित्यिक तथा अन्य क्षेत्रका व्यक्तित्वबारे पनि निबन्ध लेखेको जानकारी दिए ।

कवि तथा अनुवादक तीर्थराज वन्तले प्रधानमा पुस्तकप्रेम अधिक भएको र शिक्षा क्षेत्र तथा समाजमा समेत योगदान पु¥याएको बताए ।

साहित्यकार मदनराज थापाले स्व प्रधान साधारण तर प्रखर व्यक्तित्व भएको स्मरण गरे भने त्रिवि नेपाल भाषा विभाग प्रमुख डा चन्द्रमान बज्राचार्यले उनको नेपाल भाषामा योगदानबारे चर्चा नहुँदा अधुरो हुने बताए ।

पूर्व प्राज्ञ सनत वस्तीले स्व प्रधानको निबन्ध तथा समालोचनामा अविस्मरणीय योगदान रहेको बताउँदै उनको स्मृति ग्रन्थ प्रकाशन गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रा डा कुमार कोइरालाले देवकोटा र शंकर लामिछाने पछिका निबन्धकारमा उनलाई नै मान्न सकिने बताउँदै उनले निवन्ध र समालोचनामा पनि सैद्वान्तिकरण गर्नु भएको बताए । भाषाविद् शरच्चन्द्र वस्तीले उनका निबन्ध आकर्षक र प्रवाहयुक्त भएपनि निबन्धकारका रुपमा नचिनिएकाले उनलाई साधारण पाठकमा पु¥याउनुपर्ने तथा अंग्रेजीमा अनुवाद पनि गरिनुपर्ने बताए ।

‘मधुपर्क’का सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले स्व प्रधानबारेको संस्मरण ‘जित्ने कृष्णचन्द्र’ वाचन गर्दै स्व प्रधान सत्ता र नेतासँग नजिकिनु नभएको बताए ।

अर्का वक्ता लेखक ज्ञाननिष्ठ ज्ञवालीले राम्रा निबन्धकार रहेका स्व प्रधानको ‘गौतमबद्धको चिठी अशोकको नाममा’ उत्कृष्ट निबन्ध रहेको बताउँदै उहाँका सबै निबन्ध राम्रा रहेको उल्लेख गरे ।

कार्यक्रम संयोजक डा सनतकुमार वस्तीले स्व प्रधानको निबन्ध ‘बाँच्नु भनेको नमर्नु होइन’ पढेर सुनाए भने रमेशानन्द वैद्यले प्रधानकै एक कविता वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री तथा साहित्यकार प्रदीप नेपालको पनि उपस्थिति थियो भने लेखक ज्ञाननिष्ठ ज्ञवालीले आफ्नो कृति ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ पुस्तकालयलाई हस्तान्तरण गरेका थिए ।

‘कृष्णचन्द्रसिंहका निबन्धहरु’ पुस्तकका प्रकाशक हरि गौतमले स्व प्रधानका अरु पाँचवटा निबन्ध पनि फेला परेको जानकारी दिए ।