अन्तर्राष्ट्रिय

टर्कीमा निर्वाचन आगामी जुनमा २४ मा हुने

अङ्कारा, टर्की । टर्कीले सन् २०१९ को नोभेम्बरमा हुनेगरी तय भएको निर्वाचनलाई एक वर्षपहिले आगामी जुन २४ मा हुने गरी तोकेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एडोगानले बुधबार अङ्करामा गरिएको प्रेस सम्मेलनमा भने, कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्न राष्ट्रको भविष्यका लागि जरूरी देखिएकोले यही बर्ष जुन २४ मा राष्ट्रपति तथा संसदको निर्वाचन हुनेगरी मिति तय गरिएको छ ।

राष्ट्रपतिको यो भनाई टर्कीको नेशनलिष्ट मुभमेन्ट पार्टी (एमएचपी) नेता देभलेट बाहसेलीले सरकारलाई आकश्मिक निर्वाचन गर्न भनी गरेको आग्रहको ठीक एक दिनपछि आएको हो ।

टर्कीको जनमतसङ्ग्रहमा कार्यकारी राष्ट्रपतिका लागि अभिमत जारी गरेको कुरालाई छिट्टै कार्यान्वयनमा लानका लागि तोकिएको मितिभन्दा एक वर्ष पहिले निर्वाचन हुनेगरी मितिको घोषणा भएको छ ।