स्वास्थ्य

राप्ती आँखा अस्पताललाई रु पाँच लाख

दाङ । नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व डा अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा अस्पताललाई रु पाँच लाख सहयोग गरेको छ ।

मंगलबार अस्पतालमा पुगेर परिवारले नेपाल नेत्रज्योति संघलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । स्व अल्वर्टका श्रीमती डा सिसेल हल्डेन, छोरा डा हेनीक अल्वर्ट कोलस्टाडले राप्ती आँखा अस्पताललाई रु पाँच लाखको चेक सहयोग हस्तातरण गरेका हुन् ।

कोलस्टाडप्रति श्रद्धाञ्जलि दिन आउनेलाई फूलमालाभन्दा पनि पार्थिव शरीरमा पैसा चढाउन परिवारले आग्रह गरेको र सो रकम नेपालमा अन्धोपन निवारणमा लगाउन परिवारले आग्रह गरेको एनएबिपीका कार्यक्रम निर्देशक हरिशरण विष्टले बताए ।

“स्व कोलस्टाड नेपालमा आँखा अस्पतालको स्थापना र अन्धोपन निवारणका लागि जीवनको अन्तिम समयसम्म पनि लाग्नुभयो, त्यही देखेर परिवारले पनि उनको पार्थिव शरीरमा फूल, माला होइन पैसा चढाउनुहोस् भनेर श्रद्धाञ्जलिमा आउनेलाई परिवारले भनेका थिए” विष्टले भने ।

उनीहरुले नेपाल नेत्रज्योति संघ, दाङका सभापति कृष्णकुमार गिरीलाई सो रकमको चेक हस्तान्तरण गर्दै स्व अल्वर्टले गदै आएको सहयोगलाई निरन्तरता दिने पनि बताएका थिए । स्व अल्वर्टले नर्वेबाट धनगढीमा रहेको गेटा आँखा अस्पताल र दाङमा रहेको राप्ती आँखा अस्पताललाई सहयोग गर्दै आएका थिए ।

कार्यक्रममा अल्वर्टकी श्रीमती डा सिसेल हल्डेनले राप्ती आँखा अस्पताललाई भौतिक र प्राविधिक सहयोग गर्ने बताएका थिए ।