आर्थिक

पहिलो महिला सिइओ नियुक्त गरेर मेगा बैंकले रच्यो इतिहास

काठमाण्डौ । मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छन् । मेगा बैंक सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले बैशाख २ गतेबाट लागू हुने गरी खुञ्जेलीलाई सिइओ नियुक्त गरेको हो । उनले सोही दिनबाट औपचारिक रुपमा पदभार ग्रहण गरी सक्नुभएको छ । यससंगै ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर बनेकी हुन् ।

सिइओ नियुक्त भएपछि उनले मेगा सञ्चालक समितिले दिएको जिम्मेवारीप्रति धन्यवाद दिंदै आभार व्यक्त गरेका छन् । मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वास जित्ने गरी बैंकलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको उनले बताएन् । थप लोकप्रिय एवं नविनतम योजनाहरु ल्याएर बैंकलाई देशको अग्रणी बैंकको रुपमा स्थापित गर्ने खुञ्जेलीको अठोट छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले नवनियुक्त सिइओ खुञ्जेलीले मेगालाई सफलताको नयाँ उचाईमा पु¥याउनेमा संचालक समिति विश्वस्त रहेको बताए । नेपालको इतिहासमै पहिलो महिला सिइओ बन्ने अवसर प्राप्त गरेकोमा उनले बधाई र कार्यकाल सफलताको कामना गरे ।

यसअघि कायममुकाम सिइओ रहेकी खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ । ८ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेली नायब प्रमुख कार्यकारी अधिकृत हुँदै कायममुकाम सिइओ बनेकी थिईन् ।

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २७ वर्षको बैंकिङ करिअरको अनुभव छ ।