समाचार

संरक्षणमा जुटेपछि आत्मविश्वासी बनेका जुमडाँडाका महिला

जुमडाँडा, तनहुँ । लक्ष्मी रानामगर अहिले ५० वर्षकी भईन् । केही समयअघि अरुका अघि गएर आफ्ना कुरा भन्न लक्ष्मीलाई आँट थिएन ।

अहिले समय फेरिएको छ । लक्ष्मीको आत्मविश्वास बढेको मात्र छैन, आफूजस्ता धेरै महिलालाई सँगै लिएर अघि बढ्न सक्ने भएका छन् ।

जुमडाँडा झप्री सामुदायिक वन समूहको अध्यक्ष लक्ष्मी भएपछि लक्ष्मीको दैनिक फेरिएको छ । उनको समूहले वन संरक्षणमात्र गरेको छैन महिलालाई पनि आत्मनिर्भर र स्वस्थ बनाउन भूमिका खेल्दै आएको छ ।

पहाडकी रानी उपमा पाएको बन्दीपुरबाट करीब पाँच किलोमिटर दूरीमा रहेको जुमडाँडाका महिला हरियो वन कार्यक्रममार्फत वन, वातावरण संरक्षण गर्नाका साथै आयआर्जनमा पनि जुटेका छन् ।

हरियो वन, जिल्ला वन कार्यालय र सामुदायिक वनले स्थानीय महिलाको क्षमता वृद्धि गर्दै आयआर्जनमा जोड दिने कार्यक्रम ल्याएपछि महिला सक्षम बन्न थालेको उनीहरुको भनाइ छ ।

आम्दानीका लागि गाउँका युवा विदेश वा घर बाहिर गएका छन् । महिला नै घर व्यवहारसँगै सामाजिक काम पनि गरिरहेको लक्ष्मीको भनाइ छ । लक्ष्मीमात्र होइन, गाउँका अन्य महिलाले पनि पुरुषका जिम्मेवारी साथै निभाएका छन् ।

दिलकुमारी थापा सामुदयिक वन समूहमा जोडिएपछि घरमा बायोग्यास राखी अरुलाई पनि दाउराको खपत कम हुनाले राख्न सल्लाह दिई वन जोगाउन कोसिस गरिरहेको बताउँछन् ।

“आठ वर्षअघि वन सबै मासिसकेको थियो, खाना पकाउन पनि दाउरा पाउन गाह्रो भइसकेको थियो, वन समूह संरक्षणसँगै इन्धनको वैकल्पिक उपायबारे पनि हामीलाई हरियो वन कार्यक्रमले सहयोग गरेको छ ।”

दाउरा प्रयोग गर्दा धुवाँ धेरै हुने हुनाले टाउको दुख्ने, आँखा दुख्ने र श्वासप्रश्वासमा पनि समस्या हुन्थ्यो तर बायोग्यास प्रयोग गर्न थालेपछि स्वास्थ्य समस्या र काला भाँडा माझ्नबाट पनि मुक्ति पाएको दिलकुमारीको भनाइ छ ।

खाना पकाउन, गाईभैँसीलाई कुँडो पकाउन पहिले लालीमाया गर्जामगर वार्षिक ४० भारी दाउरा लागेको सम्झन्छन् ।

मासिँदै गएको वनमै भर पर्नुपर्ने भएकाले दाउरा जुटाउन समस्या भएको लालीमायाको अनुभव छ ।

“केही समय भयो बायोग्यास राखेपछि मलाई १० भारी दाउराले कुँडो पकाउन पुग्छ, दाउराका लागि पहिलेजस्तो दुःख पनि हुन्न, हामीले वर्षमा तीन पटक वनबाट दाउरा पाउँछौँ, आजकल ढुक्क छ”, उनी भन्छन् । अहिले ग्यासमा खाना बनाउँदा थोरै समयमा पाक्ने होइन काला भाँडा माझ्ने बाध्यताबाट मुक्ति मिलेको जुमडाँडाका महिला बताउँछन् ।

बंगुर व्यवसाय पनि गरेकी लालीमायाले गएको वर्ष सय केजीको बंगुर बेचेर ३५ हजार आम्दानी गरेका थिए ।

लक्ष्मी, लालीमाया, देवीलगायत जुमडाँडाका धेरै घरका श्रीमान् र छोरा विदेश कोही अन्यत्र कामका लागि गएका छन् । गाउँघरमा महिला, बालबच्चा र वृद्धवृद्धामात्र भेटिन्छन् ।

गाउँमा आम्दानीको स्रोत खोज्दै गाउँका युवा बाहिर थालेपछि सामुदायिक वन समूहलाई हरियो वन कार्यक्रममार्फत गाउँमै आयआर्जन गर्ने वातावरण बनाइदिएको छ ।

सोही कार्यक्रममार्फत धेरैले आर्थिक सहायता लिई बंगुर, कुखुरा, बाख्रापालन व्यवसाय शुरु गरेका छन् । जसका लागि महिलाले तालीमसमेत प्राप्त गरेका छन् । उनीहरुलाई आत्मनिर्भर बनाउँदै वन, वातावरणको संरक्षणमा लाग्न प्रेरणा मिलेको लालीमायाको अनुभव छ ।

सबै रुख काटेपछि उजाड भएको जुमडाँडाको सामुदायिक वन हरियो वन कार्यक्रमले संरक्षणमा प्रेरित गरेपछि अहिले हरियो बनेको बताउनुहुन्छ जुमडाँडा झप्री सामुदायिक वन समूहका पूर्वअध्यक्ष वीरबहादुर गुरुङ ।

निकायको सहयोगमा हुने यस्ता कार्यक्रमले स्थानीयस्तरमा मानिसको चेतना अभिवृद्धि तथा प्राकृतिक सम्पदाको उपयोग र संवद्र्धनमा सहयोग पुगेको वीरबहादुरले बताए ।

आफूजस्तो निम्न वर्गका लागि हरियो वन कार्यक्रमले नेतृत्व गर्न तथा प्रकृतिसँग आश्रित सबैसँग मिलेर बाँच्न सिकाएको कोषाध्यक्ष सुकमाया थापामगरको भनाइ छ ।

“हातमा दुई पैसा आएको छ, घर व्यवहारका काममा श्रीमान् छोराकै भर पर्नुपर्ने अवस्था अहिले छैन, एकदम सन्तुष्टिको जीवन बाँच्न थालेका छौँ”, उनले भने ।

नेपाल सरकारले पहिचान गरेका जैविक विविधताले महत्व भएका भू–परिधिको संरक्षण र व्यवस्थापनमा सुधार गर्ने उद्देश्यले हरियो वनको दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पाँच वर्षे पहिलो चरणको कार्यक्रम सकिएपछि २०१७ जनवरी लागू हुने गरी दोस्रो चरणको कार्यक्रम शुरु गरिएको हो । जलवायु परिवर्तनबाट आउने समस्यालाई कम गर्नका लागि कार्यक्रम लाभदायक हुने सरकारको विश्वास छ ।

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कम गर्नका लागि पनि कार्यक्रमले सहयोग गरिरहेको छ । जुमडाँडा झप्री सामुदायिक वनको १३ सदस्यीय कार्यसमितिमा ११ जना महिलामात्रै अध्यक्ष रहेको लक्ष्मीले जानकारी दिए ।

सतचालिस हजार हेक्टर क्षेत्रफलमा फैलिएको झप्री सामुदायिक वन संरक्षणमा महिलाले नै अगुवाइ गर्दै आएका छन् । धेरै पुरुष गाउँबाहिर बस्ने भएकाले संरक्षणमा पुरुषभन्दा महिला बढी अग्रसर भएको पूर्वअध्यक्ष गुरुङ बताए ।

अध्यक्ष लक्ष्मीका अनुसार महिलाले समूहमा मिलेर अचार बनाउने, दुना टपरी बनाएर बेच्ने काम पनि गर्ने गर्छन् । यस्ता कामले संस्कृति र परम्पराको निरन्तरता भएको छ भने अर्कोतिर आत्मियता, क्षमता वृद्धि गरेको छ ।

सामुदायिक वनकी कोषाध्यक्ष सुकमाया थापा चुलोचौकाबाट निस्किएर सामाजिक काममा संलग्न हुँदा परम्परागत रुपले भन्दा फरक तरिकाले सन्तुष्टिको जीवन बाँचिरहेको बताउँछन् ।

जिल्ला समन्वय समिति संयोजक शान्तिरमण वाग्ले अझै पनि वातावरणबारे थाहा पाए पनि यसको संरक्षण गर्ने विषय प्राथमिकीकरणमा राख्न नसकेको बताउँछन् ।

उनले भने, “वातावरण र विकासलाई सँगसँगै लैजाँदा जोखिमलाई पनि ध्यान दिई निर्माण र वृक्षरोपण, आयआर्जनका कार्य सँगै लैजाँदा वातावरण र बासिन्दाको विकास भएको छ ।”

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तललाई वातावरण संरक्षणको अधिकार दिएकाले आउँदा दिनमा वातावरण संरक्षणमा प्रगति हुने विश्वास उनको छ ।

जिल्ला वन अधिकृत मातृका पौडेलले वातावरणीय संरक्षण जनसहभागिताकै कारण वन संरक्षण सहयोग पुगेको भए पनि प्रकृतिजन्य वस्तुको प्रयोग पर्याप्त ध्यान दिन नसक्दा समय बेमौसममा दैवी विपद्हरु आउन थालेकोे बताउँछन् ।

एनजिओ नेटवर्क तनहुँका संयोजक प्रतापसिंह गुरुङले जिल्लामा सञ्चालित कार्यक्रम ‘हरियो वन’ सञ्चालन गरी संरक्षणका कार्य गरिरहेको बताए ।

वन्यजन्तुको चोरीशिकारी, मानव वनजन्तुबीचको द्वन्द्व, खुल्ला चरिचरण, वन आगलागी, पूर्वाधार निर्माण, विषादीको प्रयोग, मिचाहा प्रजातिका बिरुवा, नदीका स्रोतको अत्यधिक संकलन, माग र आपूर्तिबीचको दूरी, वन मासेर खेती गर्ने प्रवृतिजस्ता कारणले पछिल्लो समय वातावरणीय समस्या बढ्दै गएकाले त्यसतर्फ पनि जनसहभागिता सक्रिया बनाइ काम गर्न आवश्यक संयोजक गुरुङले बताए ।

वातावरणीय स्रोतको अनधिकृत रुपमा अध्यधिक प्रयोगले जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको र नयाँ रोगको आक्रमण भइरहेको बारे जनचेतना गराई वन, जल र जमिनको संरक्षणका लागि सक्रिय हुने वातावरण बनाउनुपर्नेमा उनको भनाइ छ ।

विसं २०६५ मा झप्री सामुदायिक वनको स्वीकृत पाएको सो वनमा बाङ्गे, धोरत्रोका बिरुवामात्र बाँकी थिए । अहिले सालका बिरुवाले जंगल भरिएको छ । आफूहरुले संरक्षणको जिम्मा लिएदेखि आठ वर्ष भयो जंगलमा डढेलो लाग्न नपाएको वीरबहादुरको भनाइ छ ।

एक सय छ घरधुरी ५८६ महिला पुरुष रहेको जुमडाँडामा २९१ महिला र पुरूष २९५ रहेका छन् । गाउँका ३८ घरमा बायोग्यास, ७३ घरमा सुधारिएको चुलो जडान गरिएको छ ।

गाउँमै आयआर्जन गर्न चाहनेका लागि रु ५० हजारको आर्थिक सहयोग दिने गरिएको जानकारी अध्यक्ष लक्ष्मीले गरीबको स्तर छुट्याई त्यसैअनुसार आर्थिक सहयोग गर्ने गरेको बताए ।

महिलामात्र होइन आठ वर्ष कतार बसेर गाउँ फर्किएका तिलकबहादुर आलेमगरले गाउँमै केही गर्ने सोच बनाएका छन् । विदेशबाट फर्किएर बंगुरपालन तालीम लिई व्यवसाय शुरु गरेका उनले दिनभर सामुदायिक वनको रेखदेख पनि गर्छन् ।

जिम्मेवारी जतिसुकै सानोठूलो होस् सबैको साथ पाए भने महिलाले समाज र घरको उत्तिकै राम्रो नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण जुमडाँडाका महिलाले दिएका छन् । यस्तै अवसर राज्यले हरेक तहतप्कामा दिने हो भने महिलाले वनमात्र होइन देशै हराभरा बनाउन सक्छन् ।