समाचार

यातायात क्षेत्रलाई सरकारले अंकुश लगाएको आरोप

काठमाडौँ । यातायात व्यवसायीले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बोकेको यातायात क्षेत्रलाई सरकारले अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।

विभिन्न यातायात व्यवसायी संघले आज पत्रकार सम्मेलन गरी यातायात व्यवसायीसँग विना छलफल यातायात कार्यविधि निर्देशिका ल्याएर यातायात क्षेत्रलाई अंकुश लगाउन खोजेको आरोप लगाए ।
सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मुलुकको झण्डै रु १० खर्ब लगानी रहेको व्यवसायलाई तहसनहस पार्ने खेल भएको बताए ।

“व्यवसायीले दोहोरो तेहोरो कर तिर्ने गरे पनि कर तिर्देनन् भन्नु, रुट परमिट दिँदा घुस लिन्छन् भन्नु र सिण्डिकेट लादेका छन् भन्नु आफैमा हास्यास्पद कुरा हो,”– उनले भने ।

महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई अलग बनाएर समाजको सहजता र नियमितता हुन नसक्ने बताए । “स्वदेशी पुँजीलाई तहसनहस पारेर ठूला पुँजीपतिको बोलवाला कायम गराउने उद्देश्यले कम्पनीमा दर्ता हुनुपर्ने प्रावधान ल्याइएको हो,”– उनले भने ।

महासंघले सरकारको विरोधमा विभिन्न आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ । प्रधानमन्त्री, मन्त्री, प्रदेश मुख्यमन्त्री, प्रदेश मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, यातायातसँग सम्बन्धित नेतालाई ज्ञापनपत्र बुझाउने, प्रदेशमा कोणसभा, फ्रि क्यू छोड्ने, यातायात कार्यालय घेराउ गर्ने र आफ्ना सवारी साधन ग्यारेजमा थन्काउने सम्मका विरोधका कार्यक्रम रहेका छन् ।