पर्यटन/संस्कृति

पुरातात्विक सम्पदाको तस्वीर संकलन गरिने

काठमाडौँ । विश्व सम्पदा दिवसका अवसरमा विभिन्न सञ्चार माध्यमका फोटो पत्रकारले हनुमाढोकादेखि स्वयम्भूनाथसम्मका सम्पदाको तस्वीर संकलन गरेका छन् ।

विश्व सम्पदा उत्सव मूलसमारोह समितिले आयोजना गरेको सम्पदा क्षेत्रको भ्रमणमा उनीहरुले त्यस क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदास्थलको तस्वीर खिचेका हुन् ।

स्थानीय मरुगणेश, काष्ठमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, बञ्जाहिटी, नरदेवी, लोकेश्वर गल्ली, भुरुङ्खेल, डल्लु चौतारा, भूइँखेल हुँदै स्वयम्भू क्षेत्रसम्मको २।२ किलोमिटरको भ्रमणमा सहभागी २० पत्रकारले खिचेका तस्वीरलाई केही दिनपछि प्रदर्शन गरिने भएको हो ।

विश्वभर रहेका ऐतिहासिक महत्वका सम्पदाको पहिचान र त्यसलाई संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष अप्रिल १८ मा अन्तर्राष्ट्रिय रुपमा यो दिवस मनाइन्छ । काठमाडौँं उपत्यकाका तीनवटा दरबार, स्वयम्भूनाथ चैत्य, बौद्धनाथ चैत्य, पशुपतिनाथ मन्दिर र चाँगुनारायण मन्दिर सांस्कृतिक र प्राकृतिक सम्पदा विश्व सम्पदामा सूचीकृत छन् । सोलुखुम्बुमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्ज, गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्जसमेत विश्वव्यापी सम्पदाका रुपमा परिचित छन् ।
काठमाडौँ उपत्यकाभित्रका यी सम्पदा सन् १९७९ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएका थिए । चितवन राष्ट्रिय निकुञ्ज देशको सबैभन्दा पहिले घोषणा गरिएको विश्वव्यापी संपदा मानिन्छ, भने यो निकुन्ज एसियाकै संरक्षित क्षेत्रमध्येको महत्वपूर्ण पनि मानिन्छ । सरकारले थप १५ वटा राष्ट्रिय सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र, शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) सँग माग गरेको पूरातत्व विभागले जनाएको छ । बहुमूल्य सम्पदाका रूपमा सूचीकृत भएका पुराना स्थान तथा भौगोलिकता नै विश्व सम्पदा क्षेत्रका रुपमा चिनिन्छन् ।

युनेस्कोले कुनै पनि राष्ट्रमा अवस्थित विशेष सांस्कृतिक महत्व राख्ने यस्ता सम्पदालाई विश्व सम्पदा समितिको बैठकमार्फत सूचिवद्ध गर्ने प्रचलन छ ।नयाँ पिँढीलाई सम्पदा तथा इतिहासलाई अवलोकन गर्न मिल्ने गरी जस्ताको तस्तै संरक्षण गर्ने प्रमुख उद्देश्यकासाथ सम्पदाको संरक्षण गरिन्छ ।
सांसद जीवनराम श्रेष्ठले विश्व सम्पदा दिवसमा हाम्रा सम्पदालाई देश विदेशमा प्रचार गर्न फोटो पत्रकारले संकलन गरेका तस्वीर उपयोगी हुने विश्वास व्यक्त गरे । समितिका सचिव डिल्लीरत्न तुलाधरले त्यस क्षेत्रको सम्पदाको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षित गर्न सम्पदा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको जनाकारी दिए ।

आयोजक समितिले एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका प्राचीन महत्वका सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले यही वैशाख २ गतेदेखि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।