कृषि

मल उद्योग स्थापना

बेनी, म्याग्दी । रासायनिक मल र विषादीको न्यूनीकरणका लागि मंगला गाउँपालिकामा प्राङगारिक मल उद्योग स्थापना गरिएको छ ।

अस्टे«लियमा प्रयोग हुने ‘सास्गा’ प्रविधिद्वारा गाउँघरमै खेरगएको कृषिजन्य वस्तुबाट मल कारखानाको स्थापना गरिएको हो । खेतीयोग्य जमिनको प्रयोग गदै गाउँपालिकाभित्र अर्गानिक खेतीमा किसानलाई आकर्षित गराउन गाउँपालिकाले पहिलो चरणमा ४० कृषकलाई तालीम प्रदान गरेको थियो ।

तालिमपछि उद्योग स्थापनाका लागि सहजभएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । “परीक्षण उत्पादन सफल भएको छ, अब बिक्री वितरणका लागि सहज हुनेगरी उत्पादन गछौँ” उनले भने । खेतीयोग्य जमिनको संरक्षण र रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै स्वस्थकर बाली उत्पादनका लागि प्राङ्गारिक मलको उद्योग स्थापनालाई प्राथमिकता दिइएको हो ।

पहिलो चरणको तालीममा प्रत्येक वडाबाट आठजना गरी ४० जनाले तालीम लिएका थिए । गाउँपालिकाले उद्योग स्थापनाका लागि चालु आवमा रु पाँच लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका, वडास्तरमा र किसानले घरदैलोमा नै यो विधिद्वारा मल बनाउन सक्छन् । न्यून लगानीमा समेत उद्योग स्थापना गर्न सकिने भएकाले पनि तालीम लिएका कृषकले घरमै प्राङगारिक मलको उत्पादन शुरू गरेका छन् ।

रासायनिक मलको प्रयोगले क्षणिक रुपमा उत्पादनले वृद्धि भए पनि माटोको उर्वराशक्ति नष्ट गर्ने र वातावरणमा समेत असर गर्ने विज्ञहरुको भनार्इ छ । प्राङ्गारिक मलले जमिनको आयुसमेत बढ्छ । गाउँपालिकाभित्रका किसानले रासायनिक मलको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका अध्यक्ष रोकाले बताए । खेतीयोग्य माटोमा बढीमा पाँच प्रतिशत र न्यूनतम दुईदेखि तीन प्रतिशतसम्म प्राङ्गारिक पदार्थ हुन्छ । बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण, मालिका र धौलागिरि गाउँपालिकाले समेत अर्गानिक खेतीलाई प्रोत्साहन गर्न उपकरण र मलमा अनुदानको सुविधा दिने जनाएका छन् ।