राजनीति

उत्साही स्थानीय तह तर कर्मचारी अपेक्षित भएन

काठमाडौँ । संविधानमा उल्लेख भएअनुरुप खडा भएका स्थानीय तहका नजनिर्वाचित प्रतिनिधिले उत्साहित भएर आफ्ना गतिविधिलाई अगाडि बढाउन थालेका छन् ।

स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरेर विकास निर्माण तथा जनताका आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूले समृद्धिको बाटोमा अभियान चलाउन शुरु गरेका हुन् ।

काठमाडौँको उत्तरतर्फ तथा नुवाकोटको दक्षिणपूर्वमा पर्ने शिवपुरी गाउँपालिकाले कृषिको आधुनिकीकरण, शैक्षिक गुणस्तरमा सुधार, गुणस्तरीय स्वाथ्य सेवा एवं भौतिक पूर्वाधार निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ ।

स्वास्थ्यलाई जनताको पहुँचमा पु¥याउने र उनीहरुको आधारभूत आवश्यकता पूरा गर्नेमा आफूले विशेष ध्यान दिएको गाउँपालिका अध्यक्ष रामकृष्ण थापा बताउँछन् ।

राज्यबाट पाउने सबै सुविधालाई सहज रुपमा स्थानीय जनतासमक्ष पु¥याउने कार्यलाई केन्द्रमा राखेर समग्र गाउँपालिकाको विकास लागेको बताउँदै उनी आफ्नो कार्यकालमा सकारात्मक छाप छोड्ने प्रण गरे ।

शिवपुरी गाउँपालिका साविकको आठ वटा गाविस गाभिएर बनेको यस गाउँपालिकाको प्रमुख अधार कृषि नै हो । यहाँ प्राकृतिक सिँचाइको राम्रो प्रबन्ध भएकाले खाद्यान्नमा आत्मनिर्भर छ ।

कृषिको आधुनिकीकरण

यस गाउँपालिकाले कृषिलाई नै केन्द्रित गरेर आफ्ना गतिविधिलाई अघि बढाउनुका साथै यसलाई आयआर्जनका रुपमा अगाडि बढाउने गरी कार्यक्रम सञ्चालन गरेको छ । यसै आवमा स्थानीय कृषकलाई ३० वटा हाते ट्याक्टर, २० फलामे टनेल, ११५ प्लाष्टिक टनेल बाँडिएको छ ।
जनताका उत्पादनलाई बजारीकरणका लागि मध्यपहाडी लोकमार्गसँगै रु ३० लाखको लागतमा कृषि उपज संकलन केन्द्रको भवन निर्माण भइरहेको र दुई महिना भित्रै केन्द सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष थापाको भनाइ छ।

कृषिको क्षेत्र अत्यन्त्र राम्रो पक्ष हो तर काम गर्नका लागि आवश्यक जनशक्ति नभएकाले बाँझो पर्ने अवस्था छ । धान, मकै र कोदोले नै जनताका सबै आकांक्षा पूरा नहुने भएकाले यसलाई आधुनिकीकरण गर्नुपर्छ । यहाँ नगदेबाली, आयआर्जन हुने बाली कृषकलाई उपलब्ध गराउने अभियानमा गाउँपालिका रहेको छ ।

पर्यटन क्षेत्रको पहिचान र विकास

यस गाउँपालिकामा पर्यटकीय क्षेत्रको पहिचान गरेर एवं विकास गरेर समृद्धितिर लैजाने सोचअनुसार बाटोको राम्रो सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।

साविकको सुनखानी एवं शिवपुरीको वडा नं ७ स्थित सूर्यचौरलाई पर्यटकीय क्षेत्रको विकासका गर्ने नीति बनाएर अगाडि बढ्ने तयारी गरिएको छ । चिसापानीजस्ता क्षेत्रलाई पर्यटन विकासको केन्द्रका रुपमा अघि बढाउने गाउँपालिकाले तयारी गरेको छ ।

क्षेत्रमा भ्यू टावर बनाएर पर्यटन प्रवद्र्धनमा गर्नुपर्नेछ । स्थानीय ऐनमा गाउँपालिकाभित्र पर्ने साधन र स्रोतको संरक्षण, संरक्षण एवं संवद्र्धन गाउँपालिकाले गर्ने भएको छ ।

गुणस्तरीय शिक्षामा जोड

यस गाउँपालिकाका ५२ वटा विद्यालय छन् । यस गाउँपालकाले नीति बनाएर आन्तरिक दरबन्दी मिलान गरी शैक्षिक गुणस्तरलाई माथि उठाउने प्रयासमा लागेको छ । एउटा पनि निजी विद्यालय नभएकाले यस क्षेत्रमा प्रतिष्पर्धी रुपमा शैक्षिक गुणस्तर सुधार गर्न सकिने गाउँपालिकाका अध्यक्ष थापा बताउँछन् ।

उनका अनुसार यहाँका शिक्षकलाई तालीम दिन शिक्षासम्बन्धी नियम गाउँपालिकाले तयार गरेर लागू गरिसकेको छ । वैशाख १ गतेदेखि लागू हुने गरी नियम बनाएर लागू गर्दा केही अप्ठ्यारो अनुभव भए पनि समग्रमा गुणस्तरीय शिक्षाका लागि अघि बढेकाले राम्रो हुने अनुमान गरिएको छ ।

क्षेत्रीयस्तरको शिवपरी रंगशाला बन्दै

गाउँपालिकाको बजेटको मुख्य पाटो भौतिक पूर्वाधार अर्थात् बाटो निर्माणमा नै सकिएको अध्यक्ष थापा बताउँछन् । पुनःनिर्माणको सामग्री लगेर घर बनाउनुपर्ने भएकाले बाटोमा नै बढी बजेट खर्च भएको हो ।

उनका अनुसार वडा नं ७ पर्ने बिर्ताको चौर भन्ने स्थानमा २४ रोपनी जग्गामा क्षेत्रीयस्तरको रंगशाला निर्माण कार्य जारी छ । यहाँ रंगशाला निर्माणका लागि सम्याउने काम भइरहेको छ । फुटबल ग्राउण्ड र बाहिर पाँच लेनको रनिङ ट्र्याक हुँदा त्यो ‘बि क्लस’को रंगशाला हुने र त्यहाँ क्षेत्रीयस्तरको खेल खेलाउन सकिने अध्यक्ष थापाको भनाइ छ ।

त्यसका अलवा गाउँपालिकाले स्थानीय सामाजसेवीको सहयोगमा त्रिवेणी धाम बनाउने तयारी गरेको छ । सबै मिलेर गुरुयोजना बनाएर काम हुँदै आएको छ ।

सरकारी साधन र स्रोत पर्याप्त त छैन त्यसका साथै स्थानीय स्रोत पहिचान र परिचालन हुन बाँकी छ । आन्तरिक स्रोतलेमात्र स्थानीय निकायले खुलेर चल्ने अवस्था छैन ।

कार्मचारीको समस्या कायमै

स्थानीय तहमा कर्मचारीको समस्या अझै कायम भएको भन्दै अध्यक्ष थापा कर्मचारीबाट सहयोग नपाइएको गुनासो गर्छन् । उनी कर्मचारीहरु मुखले केही नभने पनि यो वा त्यो बहानामा कहिले कार्यकारी नहुने, कहिले लेखापाल नहुने, कहिले प्राविधिक नहुने अवस्था छ भने ।

एकजना नहुनेवित्तिकै जनताको काम त रोकिने भएकाले नियमित काम गर्नका लागि कर्मचारीको सहयोग आवश्यक रहेको उनी बताउँछन्.।

मलुकभर ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका छन् । सबै स्थानीय तहमा समस्यासहितका अवसर पर्याप्त देखिएको छ तर शिवपुरी भने प्रतिनिधिमुलक गाउँपालिका बनेको छ ।

अध्यक्ष थापा भन्छन्, “संविधानले दिएको अधिकारलाई प्रयोग गरेर स्थानीय क्षेत्रको विकास गर्ने र जनताको काममा लाग्ने हो, सून्यबाट शुरु गर्नुपरेको छ, यो पाँच वर्षमा केही असल कुरा भएको थियो भन्ने छाप छोड्न सफल हुनेछौँ ।”