समाचार

करेन्ट लागेकामध्ये एकको मृत्यु

मलेखु, धादिङ । थाक्रे गाउँपालिका– ११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
बोरिङ गरेर तानिएको पानीको पाइपमा बाटो माथि मिलाउनलाग्दा हाइटेन्सन लाइनमा करेन्ट लागेपछि घाइते भएकी झापा, कन्काइ नगरपालिका – ८ की मिक्की तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेपछि उपचारका लागि ट्रमा सेन्टरमा लगिएकी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए ।
घाइते हुनेमा थाक्रे – ६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कूलू, सुरेश कूलू, माइली तामाङ र गौतम तामाङ छन् । तीमध्ये पाँच जनाको वीर अस्पताल ट्रमा सेन्टरमा र दुई जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।