उर्जा

वैकल्पिक ऊर्जाको आभावमा गुइँठाको प्रयोग

नवलपरासी । पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दैआएका छन् ।

पर्याप्त काठ दाउरा नभएपछि यहाँका बासिन्दाले गाईभैँसीको गोबर र परालको भुसबाट तयार पारिएको गुइँठाबाट खाना पकाउने गरेका हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यास पर्याप्त मात्रामा उपलब्ध छैन ।

गुइँठाबाट निस्किने धुँवा स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । लामो समयसम्म गुइँठाको प्रयोग गरी खाना पकाउँदा धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी, क्षयरोग र मोतियाबिन्दुजस्ता दीर्घकालीन रोग लाग्ने चिसापानी अस्पतालका डा मोहम्मद नुरुल होदा बताउँछन् ।

“धुवाँले आँखा र श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउँछ,” उनले भने । अस्पतालमा उपचारका लागि अधिकांश गृहिणी महिला आउने गरेका छन् ।

गोबरलाई गुइँठा बनाएर खाना पकाउने काममा प्रयोग गर्दा मलको अभाव हुने गरेको छ । मलको अभावले खाद्यान्न संकटको खतरा निम्तिने डर छ । गोबरले माटोको उर्वरा शक्तिलाई स्थायित्व दिन्छ । ग्रामीण भेगका किसानका घरमा गोबरलाई मलका रुपमा प्रयोग गर्ने चलन गुइँठाकै कारण कम भएको छ । सरकारले सुधारिएको चुलो, गोबरग्यास र अनुदानमा ग्यास वितरणजस्ता कार्यक्रम ल्याए मात्र गुइँठाको प्रयोग रोकिने अवस्था छ ।