समाचार

नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु

चितवन । चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

गत वर्ष २०७३ वैशाखदेखि चैत मसान्तसम्ममा १८२ वटा सवारी दुर्घटना भएका थिए । त्यस दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै ट्राफिक प्रहरीले २०७४ चैत मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार १०० सवारी साधन कारवाही गरेको छ ।

मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै ५९१ जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष मात्रै ट्राफिक प्रहरीले रु दुई करोड २४ लाख ५१ हजार राजश्व संकलन गरेको छ ।

गतवर्ष २०७३ चैतसम्ममा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ३२ हजार २५० सवारी र मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै एक हजार १८६ जनालाई कारवाही गर्दै रु दुई करोड ४५ लाख ६८ हजार ५०० राजश्व संकलन गरेको थियो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनात्मक कार्यक्रमलाई पनि निरन्तर अघि बढाइ रहेको छ ।

चैत महिनामा मात्रै ट्राफिक प्रहरीले विभिन्न व्यक्ति, संघसंस्थाको समन्वयमा ३१ भन्दा बढी कार्यक्रम गरेको जनाएको छ । यी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने ट्राफिक प्रमुख पन्तले बताए ।