अन्तर्राष्ट्रिय

वरिष्ठ अमेरिकी अधिवक्ताद्वारा विरोधस्वरूप आत्मदाह

वासिङटन, संयुक्त राज्य अमेरिका । वरिष्ठ अमेरिकी अधिवक्ता तथा समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आएका ड्याभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानवजाती भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गरेका छन् ।

साठी वर्षीय बकेलले स्थानीय समयअनुसार शनिवार विहानै ब्रुकलिनको प्रोस्पेक्ट पार्कमा आत्मदाह गरेपछि उनलाई तत्कालै मृत घोषणा गरिएको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले जनाएको छ ।

आत्महत्यापूर्व विभिन्न अमेरिकी पत्रिकालाई गरिएको इमेलमा उनले पृथ्वीमा जे भइरहेको छ त्यसैको सङ्केतस्वरूप जैविक इन्धनको प्रयोग गरी आत्मदाह गरेको बताएका छन् ।

“वायु, माटो, पानी तथा मौसममा भएको प्रदुषणले हाम्रो धर्तीलाई विनास गरेको छ र पृथ्वीलाई बस्न अयोग्य बनाइरहेको छ,” आत्महत्यापूर्व लेखिएको इमेलमा उनले लेखेका छन् ।

“धेरैजसो मानवजातीले जैविक इन्धनको प्रदुषणका कारण अस्वस्थ भएको स्वास फेरिरहेका छन् । नतिजास्वरूप अल्पायुमै मर्नुपरेको छ । मेरो जैविक इन्धनको प्रयोगबाट अल्पायुमै भएको मृत्युले हामीले के गरिरहेका छौँ भन्ने कुराको वोध गराउने छ ।”

बकेलले लामोसमयदेखि अदालतमा समलिङ्गी समूहको अधिकारका लागि सङ्घर्ष गर्दै आएका थिए साथै समलिङ्गीहरूको संगठन ‘लाम्डा लेगल’का वैवाहिक योजनाका निर्देशक पनि थिए ।

“ड्याभिडको मृत्युको खबर ह्रदय विदारक भएको छ । यो लाम्डा लेगल सदस्य तथा सामाजिक न्यायको सम्पूर्ण आन्दोलनका लागि अपुरणनीय क्षति भएको छ,” लम्डाका कानूनी विभागका निर्देशक कमिला टेलरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

टेलरले भने, “ड्याभिड एक उज्ज्वल कानूनी परामर्शदाता थिए । उनले समलिङ्गी युवाहरूको अधिकारका लागि बनेको लाम्डा लेगलको स्थापनाका लागि महत्वपूर्ण योगदान गरेका थिए। ”

“लाम्डा लेगलमा निस्क्रिय बनेपछि बकेलले वातावरणीय प्रदुषणका बारेमा काम गर्दै आएका थिए ।”

ड्याभिडको मृत्युले वातावरण प्रदुषण रोक्न आगामी दिनमा गर्नुपर्ने कामकोलागि विश्वलाई झकझकाउनेछ ।