देश

पुरुष मृत अवस्थामा फेला

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा आज बिहान फेला परेका छन् । इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

रबि फ्रेस हाउ सञ्चालकका आफन्त रोशन न्यौपानेको घरमा डेरा गरी बस्दै आएका सुनवार घरको दुई तलामाथिबाट झरेर मरेको अनुमान गरिएको छ । शरीरमा एक थान भित्री कपडाबाहेक अन्य कपडा नलगाएको अवस्थामा मृत फेला परेका सुनवारको शरीरमा भने कुनै चोटपटक नदेखिएको प्रहरीले बताएको छ ।

सुनवारसँगै आइतबार राति ११ बजेतिर सुतेका रबि फ्रेस हाउसमा नै कार्यरत गोपाल श्रेष्ठ र सुरज लिम्बूले आफूहरुसँग सुतेको र सुनवारले मादक पदार्थ सेवन गरेकाले उनी कतिखेर कसरी तल झरे भन्ने कुरा थाहा नभएको र अहिले बिहान भुइँमा मृत देखिएको बताएका छन् । सुनवारको लासको प्रकृति हेर्दा उनको मृत्यु शङ्कास्पद रहेको प्रहरीले अनुमान लगाएको छ ।

मृत फेला परेका सुनवारको शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र त्यसको प्रतिवेदन आएपछि मात्र उनको मृत्युको कारण खुल्न सक्ने प्रहरीले अनुमान गरेको छ ।