शिक्षा

जन्मदिनको रकमले विद्यालयमा अक्षयकोष

फलेवास, पर्वत । पछिल्लो समय युवायुवती, विद्यार्थी र बालबच्चाको जन्मदिनका अवसरमा लाखौँ रुपैयाँ खर्च गरेर भोजभतेर गर्ने चलन छ ।

शहरमा मात्र नभई पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको अवस्थामा यहाँका एक वृद्धले आफ्नो जन्मदिनको रकमले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पर्र्वतको सदरमुकाम कुश्माबजारका एक वृद्धले ७७औँ जन्मदिनको अवसर पारेर स्थानीय एक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

राजनीतिज्ञ तथा समाजसेवी तोयनाथ चालिसेले आफ्नो जन्मदिनका अवसरमा स्थानीय शिवालय माविमा रु एक लाख ५० हजारको अक्षयकोषको स्थापना गरेका छन् । विद्यालयका संस्थापकसमेत रहेका चालिसे, उनकी धर्मपत्नी भीमकुमारी चालिसे र छोरी इन्दु चालिसे गौतमले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीलाई संयुक्त रुपमा आइतबार उक्त रकम हस्तान्तरण गरेका हुन् ।
आफ्नो ७७औँ जन्मदिनका अवसरमा उक्त सहयोग गरेको र आगामी दिनमा समेत कोषमा रकम थप गर्दै लैजाने उनले बताए । उनले आर्थिक कारणले विद्यालयमा पुगेर शिक्षा लिन नसक्ने बालबालिकालाई यो कोषबाट सहयोग गरिने बताए । कोषमा प्रत्येक वर्ष रकम थप गर्दै लगिने उनको भनाइ छ ।