शिक्षा

विद्यार्थी र शिक्षक लक्षित गरेर दुईवटा पुस्तकको लोकार्पण

ललितपुर । सिकाइ समूहले विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई लक्षित गरेर दुईवटा पुस्तक बजारमा ल्याएको छ ।

समूहले आज यहाँ कार्यक्रमको आयोजना गरेर ‘गणितको शब्दकोष’ र ‘अमर पुस्तक’को लोकार्पण गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पौडेलले विद्यालयको पढाइ सकेको व्यक्ति कुनै एउटा कुराको सीप हुनुपर्ने बताए ।

उनले भने, “अबको शिक्षा आर्थिक र सामाजिकरुपमा जोडिएको हुनुपर्छ ।” जीवनमुखी, देशमुखी र मानवतामुखी शिक्षा आवश्यक भएकामा उनको जोड छ । शिक्षामा कार्यरत संस्था शिक्षालाई सीपमूलक बनाउनेमा लाग्नुपर्नेमा उनको जोड छ । देशभर भर्ना अभियान व्यापकरुपमा चलिरहेको उनले बताए ।

पुस्तकका लेखक हरिनारायण उपाध्यायले गणितको शब्दकोष आफूले विसं २०५२ मा शुरु गरेर यो वर्ष सकाएको बताए ।

काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक डा बालचन्द्र लुइँटेलले विद्यालयमा अब पाठ्यपुस्तकभन्दा सन्दर्भसामग्री बढी आवश्यक भएको बताए ।

युलिएन्स माध्यामिक विद्यालयका प्रधानाध्यापक मेदिनी लामिछाने, नीलबाराही माध्यामिक विद्यालयका प्रधानाध्यापक जानुका नेपालले पाठ्यपुस्तकमा मात्रै केन्द्रित पढाइ हुँदा शैक्षिक बेरोजगार बढिरहेको बताए ।

गणित शब्दकोष हरिनारायण उपाध्यायले लेखेको हो भने अमर पुस्तक मोहनकुमार दाहालले अनुवाद गरेका हुन् ।