खेलकुद

नेपालले युएई कराते च्याम्पियनसिपमा भाग लिने

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)को नेशनल कराते च्याम्पिनयसिपमा नेपालको एभरेस्ट मार्सल आर्टस् क्लबले भाग लिने भएको छ ।

आगामी शुक्रबारदेखि युएईमा हुने उक्त च्याम्पियनसिपमा एभरेस्ट क्लबका १० खेलाडी, तीन प्रशिक्षक, चार अफिसियल तथा तीनजना निर्णायकले सहभागिता जनाउन लागेको प्रमुख प्रशिक्षक रबी शाहीले जानकारी दिए ।

च्याम्पियनसिपमा नेपालका १० खेलाडीले पाँचवटा विधाका काता र १० वटा तौल समूहको कुमुतेमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक शाहीले बताए । च्याम्पियनसिपमा कुमार भुसाल, विजयी तामाङ, दिनेशसिंह ऐर, सुरज पोख्रेल, किन्जल श्रेष्ठ, विनोद राई, आशाना पाण्डेय, राम लामा, लक्ष्मण थापा र नविन श्रेष्ठले प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै नेपाली टोलीको प्रमुख प्रशिक्षकमा शाही, प्रशिक्षकमा परशुराम घिमिरे र गणेशबहादुर खत्री, टिम व्यवस्थापकमा पवित्र भण्डारी तथा अफिसियलमा हिरालाल श्रेष्ठ, मदन अधिकारी, कमल पोख्रेल र भानुभक्त पौडेल रहेका छन् । च्याम्पियनसिपमा प्रमुख प्रशिक्षक शाही, विशाल पुनमगर र प्रेम श्रेष्ठले निर्णायकको भूमिका निर्भाह गर्नेछन् ।