समाचार

इलाम र धरानबीच भगिनी सम्बन्ध स्थापना

मंगलबारे, इलाम । खलंगा स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध विस्तार गरिएको छ ।

आज यहाँ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाबीच भएको सम्झौता एक आपसमा साटासाट गर्दै भगिनी सम्बन्ध कायम गरिएको हो । भगिनी सम्बन्ध दुई नगरपालिकाबीचको मितेरी सम्बन्ध भएको बताइएको छ । यो सम्बन्ध १० वर्षसम्म कायम रहने सम्झौतापत्रमा उल्लेख छ ।

पर्यटकीय दृष्टिले सुन्दर, सफा नगरपालिकाका रुपमा दुई नगरपालिकालाई लिइने गरिन्छ । साथै विश्वमै परिचित ऐतिहासिक महत्व बोकेका नगरका रुपमा समेत यी नगरपालिकालाई लिइन्छ ।

भगिनी सम्बन्ध स्थापना भएपछि यसबाट दुवै नगरबीच सामाजिक, सांस्कृतिक, आर्थिक तथा मानवीय विकास भई विविध क्षेत्रबाट फाइदा हुने बताइएको छ । यसबाट आर्थिक समृद्धितर्फ अघि बढ्न सकिने भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ उपदफा (ट) अनुसार अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गरिएको बताइको छ ।

आपसी सिकाइ र अनुभव आदानप्रदान गर्दै स्रोत साझेदारीको माध्यमबाट दुवै नगरपालिकालाई समृद्ध बनाउने लक्ष लिइएको छ । भगिनी सम्बन्ध विस्तारपछि पर्यटन विकास, कृषिमा आधुनिकीकरण, व्यावसायिकीकरण, संस्थागत सिकाइ आदानप्रदान, भाइचारा तथा भातृत्व विकासलगायत विकास गरिने बताइएको छ ।

सो अवसरमा प्रदेशसभा सदस्य रामबहादुर रानाले दुई नगरबीच भएको सम्झौता कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले प्रदेश सरकारसँग समेत छलफल गरी धनकुटाको भेडेटारबाट राँके–सवी हुँदै मंगलबारे बजारबाट इलाम जोड्ने सडक विस्तार गरिने वताए ।

भगिनी सम्बन्ध कायम भएपछि इलामको चिया धरान हुँदै विश्व बजारमा पु¥याउन विशेष कार्यक्रमको आयोजना गरिने धरान उपमहानगरपालिकाका प्रमुख सुब्बाले बताउनुभयो । इलामको पर्यटन प्रवर्धनमा दुई नगरबीच भएको सम्झौता दुवै नगरका लागि कोशेढुङ्गा सावित हुने इलाम नगरपालिकाका प्रमुख बस्नेतले बताए ।

कार्यक्रममा धरानबाट आएका नगर जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, कलाकारलगायतलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।