पर्यटन/संस्कृति

बस्ती पस्ने हात्तीमाथि निगरानी

रत्ननगर, चितवन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मानव¬वन्यजन्तु द्वन्द्व रोक्न ध्यान केन्द्रित गरेको छ ।

विभिन्न ठाउँमा मानव ¬वन्यजन्तु द्वन्द्व बढेको भन्दै यसको न्यूनीकरणका उपाय खोजी गरी पर्या–पर्यटनको विकासमा ध्यान केन्द्रित गरेको विभागका महानिर्देशन मनबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार हात्तीबाट मानव बस्तीमा बढी क्षति पुग्ने गरेकाले त्यसलाई रोक्न विभिन्न उपायहरु अवलम्बन गर्न लागिएको छ । मुख्यगरी चितवन, पर्सा, बर्दिया र कोसी क्षेत्रमा जंगली हात्ती पसेर बस्तीमा क्षति पु¥याउँदै आएको छ । त्यसपछि चितुवा, गैंडा, बाघ, भालु, बँदेलले क्षति पु¥याउने गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा बस्ती पस्ने हात्तीलाई रेडियो कलर लगाएर निगरानी थालिएको बताउँँदै महानिर्देशक खड्काले अब चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पनि त्यो काम शुरु गरिने जानकारी दिए । बढी द्वन्द्व हात्तीसँग भएको निष्कर्ष विभागको छ ।

यसअघि हात्ती जंगलबाट बस्ती पस्न लागेका बेला विशेष प्रविधिमार्फत साइरन बज्ने र हात्ती आएको सूचना दिने प्रविधि बर्दियामा परीक्षण गरिएको थियो ।

उक्त प्रविधि प्रभावकारी भएको भन्दै खड्काले अन्य क्षेत्रमा पनि यो प्रविधि उपयोग गर्नेबारे छलफल भइरहेको बताए । ‘यसले द्वन्द्व न्यून गर्न सहयोग पुग्छ भन्ने विश्वास छ,’ खड्काले भने – ‘अब विभागको ध्यान द्वन्द्व घटाउँदै पर्या–पर्यटनको विकासमा गर्नमा जान्छ ।’

यो सँगै वन्यजन्तुको सुरक्षाका कार्यक्रमलाई अझै प्रभावकारी बनाइने विभागको भनाइ छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रिविनोद दाहाल रेडियो कलर लगाएको हात्तीको निगरानी कम्प्युटरबाटै हुने गरेको बताउँछन् । बस्तीमा आउन लागेको थाहा पाएपछि समुदायलाई सचेत पार्ने गरिएको छ । यसअघि यहाँ हात्ती बस्ती आउन लागेपछि साइरन दिने प्रविधिको समेत परीक्षण भएको थियो ।

यसका अलावा द्वन्द्व घटाउन बर्दियामा २५० किलोमिटर क्षेत्रमा विद्युतीय तारवार, कंक्रिट पर्खाल लगाउने लगायतका कार्यक्रमलाई समेत निरन्तरता दिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाह बताउँछन् । बर्दियामा १२० बढी जंगली हात्ती छन् । विसं २०५७ देखि अहिलेसम्म हात्तीको आक्रमणबाट मात्रै यहाँ ३६ जनाको ज्यान गएको तथ्याँक छ ।

पूर्व कोशीटप्पुमा बस्ती पस्ने २ वटा हात्तीलाई पनि रेडियो कलर लगाएर अहिले अनुगमन गरिरहेको कोशीटप्प वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह बताउँछन् ।

उनले रेडियो कलरका कारण हात्तीहरु कहाँ जाँदैछन् भन्ने निगरानी गर्न सजिलो भएकाले क्षति कम हुने गरेको बताए । विभिन्न नाका र सुरक्षा पोष्टमा साइरन राखेर थप निगरानी गर्ने तयारीमा आरक्ष रहेको समेत उनले बताए । कोशीमा करीव एक दर्जन हात्ती रहेको अनुमान छ ।

अब दोस्रो चरणमा चितवन र पर्सामा पनि द्वन्द्व न्यून गर्ने काम गरिने निकुञ्ज विभागले जनाएको छ ।

केही वर्ष अघि यहाँ १५ जनाको ज्यान लिएर आतंक मच्चाएको धु्रवे नामको हात्तीमा रेडियो कलर लगाइएको थियो । पछि रेडियो कलर जंगलमा भेटिएको थियो । अहिले ध्रुवेको आतंक रोकिएको भएपनि सौराहा क्षेत्रमा रोनाल्डो नामको हात्ती बेलाबेलामा बस्ती पस्ने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक वन्यजन्तु बस्तीमा आउन नदिन निकुञ्जले गस्ती गर्ने, विभिन्न क्षेत्रमा विद्युतीय तारबार लगाउने र कंक्रिट पर्खालहरु निर्माण गर्ने काम भइरहेको बताउँछन्।