पर्यटन/संस्कृति

जिब्रो छेडेर टोल टोल घुमे बुद्धकृष्ण

भक्तपुर । बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेका छन् ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ ।
कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो २ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौं मानिसका अगाडि वागश्रेष्ठको जिब्रो छेडेका थिए ।
जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महादीप बोकेर टोलटोल घुमेका वागश्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेका थिए ।
जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर पोतेपछि जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गर्ने चलन छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने वागश्रेष्ठले बताए ।
परम्परादेखि चल्दैआएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको उनले बताए । यसअघि २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेड्नु भएको थियो ।
उनले भने – ‘विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेका थिए । त्यही वर्ष मैले जिब्रो छेडें । मेरो रोग निको भयो । त्यसपछि रोजगारीका लागि दक्षिण कोरिया गएँ । उताबाट फर्किएपछि थिमिको कोरिया–नेपाल मैत्री अस्पतालमा निरन्तर एम्बुलेन्स चलाइरहेको छु ।’

अहिले भगवान्प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि जिब्रो छेडेको उनको भनाइ थियो ।
विसं २०६० सम्म उनकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेका थिैए । उनले २०६१ देखि २०६४ सालसम्म जिब्रो छेडेका थिए । गतवर्ष पुनः जिब्रो छेडेका बुद्धकृष्णले यसवर्ष छैटौँ पटक जिब्रो छेडेका हुन् । जात्रा सञ्चालन गर्न मध्यपुरथिमि नगरपालिकाले रु १ लाख आर्थिक सहयोग गरेको छ ।