पर्यटन/संस्कृति

शिख समुदायको सुरक्षामा सरकार गम्भीरः गृहमन्त्री

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले नेपालमा रहेका शिख समुदायको अधिकारको रक्षा र सुरक्षाको विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

आज गुरुद्वारामा गुरु नानक सत्सङग व्यवस्थापन समितिले नयाँ वर्ष २०७५ तथा शिख गुरु खाल्साको जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले शिख समुदायलाई सुरक्षामा ढुक्क भएर आफ्ना गतिविधि गर्न आग्रह गरे ।

उनले अंग्रेज विरुद्धको लडाईँमा भारतका रञ्जित सिंह र नेपालका तत्कालीन राजाबीच सहकार्य भएको इतिहास रहेको भन्दै नेपालको स्वाधिनताका लागि शिख समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले विगतमा नेपालमा ठूला सवारीसाधन भित्र्याउने तथा व्यापार व्यवसायमा शिख समुदायले अग्रणी भूमिका खेलेको समेत चर्चा गरे । मन्त्री थापाले बालाजुमा शिख समुदायले पाउने भनिएका जग्गाको विषयमा आफूले पहल गर्नेसमेत स्पष्ट पारे ।

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले नेपालको विकासमा शिख समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको सम्बन्धलाई थप मजबुत बनाउन शिख समुदायकोे पनि महत्वपूर्ण योगदान रहेको धारणा राखे ।

आयोजक संस्थाका अध्यक्ष प्रितम सिंहले बालाजुमा शिख समुदायले पाउने भनिएका जग्गा अहिलेसम्म नपाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।