पु.समाचार

नयाँ बसपार्क सडक महोत्सव सम्पन्न

काठमाडौँ । ‘सडकमा खाउँ सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धन गरौँ’ भन्ने मूल नाराका साथ शुरु भएको दुईदिने ‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’ सम्पन्न भएको छ ।

नयाँ बसपार्क सबै क्षेत्रले सुरक्षित भएको सन्देश दिई आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ गत चैत ३० गतेदेखि शुरु भएको महोत्सव आज सम्पन्न भएको हो ।

महोत्सवको समापन गर्दै प्रदेश ३ का भौतिक पूर्वाधार तथा योजनामन्त्री केशव स्थापितले नयाँ बसपार्क महोत्सवले नयाँ संस्कारको थालनी गरेको बताए । “नयाँ बसपार्कलाई नमूना बसपार्कको रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्नेछ,”– उनले भने ।

काठमाडौँ क्षेत्र नं ६ प्रदेश (ख)का सांसद योगेन्द्र संग्रौलाले एकमात्र राष्ट्रिय बसपार्क रहेको नयाँ बसपार्क क्षेत्रलाई सफा राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्ने बताए ।

महोत्सवका संयोजक विष्णु पोखरेलले विसं २०७२ को भूकम्पले क्षति पुगेको नयाँ बसपार्क क्षेत्र सुरक्षित क्षेत्रका रुपमा रहेको सन्देश दिन महोत्सवको आयोजना गरिएको बताए । आगामी वर्षपनि यस्ता महोत्सवलाई निरन्तरता दिने उनको भनाइ थियो ।

महोत्सवका आर्थिक संयोजक शैलेश कार्कीले मेलाको दुई लाखले अवलोकन गरेको र झण्डै ५० लाखको आर्थिक कारोबार भएको जानकारी दिए।