आर्थिक

औद्योगिक मेलामा रु तीन करोडको कारोबार

भक्तपुर । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु तीन करोडभन्दा बढीको व्यापार भएको छ ।

नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भइरहेको मेलामा हालसम्म ६० हजारभन्दा बढीले अवलोकन गरेको र दैनिक उपभोग्य सामग्रीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा रु तीन करोडभन्दा बढीको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल राखिएको छ भने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, रोटीपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामाग्री राखिएको छ ।

दैनिक दर्जनौँ राष्ट्रिय कलाकारको प्रस्तुतिका कारण पनि मेलाको रौनक बढेको महतले बताए । मेलामा तराई क्षेत्रमा खेलिने प्रशिद्ध कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको छ भने राष्ट्रिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

मेलाको सातौँ दिन बिहीबार शिव हमाल, दि मोशा ब्याण्ड, रोशन श्रेष्ठ, रीता केसी, सरिमा श्रेष्ठ, उदेश श्रेष्ठलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिए ।

मेलामा ज्योति मगर, प्रमोद खरेल, राधिका हमाल, बद्रि पंगेनी, गुल्मी गाइज, कमल खत्री, कोमल वली, बैकुण्ठ महत, कमल क्षेत्रीलगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुँडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए ।

त्यसैगरी मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल पनि छ ।