खेलकुद

नयाँबर्षको नारा नै अब धनगढी दौडिन्छ……

धनगढी । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्षको अवसरमा आज यहाँ भएको ‘नवजीवन धनगढी हाफ म्याराथन‘ प्रतियोगितामा जुम्लाका ध्रुवबहादुर बुढा पहिलो भएका हुन् ।

निर्धारित २१ दशमलव एक किलोमिटरको दूरी बुढाले एक घण्टा सात मिनेट आठ सेकेण्डमा पूरा गरेर नगद रु ५१ हजार पुरस्कार पाए ।

नेपाली सेनाका हरि रिमाल एक घण्टा आठ मिनेट ० दशमलव १ सेकेण्ड र सेनाकै लालबहादुर थापा एक घण्टा आठ मिनेट २५ सेकेण्डमा निधारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए।

दोस्रो भएका रिमालले नगद रु २५ हजार र तेस्रो भएका थापाले नगद रु १५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै, कर्पोरेटतर्फको पाँच किलोमिटर दौडमा भीम चौधरी प्रथम, सिद्धराज जोशी द्वितीय र मनमोहन विष्ट तृतीय हुँदै क्रमशः नगद रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार पाए ।

धनगढी हाफ म्याराथनको उपाधि कब्जा गर्ने बुढा जुम्लामा हरि रोका फाउण्डेशनले सञ्चालन गरेको कर्णाली क्लबका धावक हुन् । वैशाख १ गते ‘धनगढी दौडने’ सूचना पाएर प्रतियोगितामा सहभागी भएका बुढाले निरन्तरको प्रयास र दृढ विश्वासले पहिलो हुन सफल भएको बताए।
सन् २००८ देखि निरन्तर दौडिँदै आएका बुढा एशियाली खेलकूदको छनोटमा पनि दौडने इच्छा व्यक्त गर्छन् ।

धनगढी जेसिजले नयाँ वर्षको अवसरमा हरेक वर्ष ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका धनगढी हाफ म्याराथनको आयोजना गर्दै आएको छ ।

प्रतियोगिताबाट उठेको रकमले गत वर्ष नेपाल रेडक्रस सोसाइटी कैलालीलाई शव वाहन सहयोग गरेको जेसिजले यसवर्ष पनि सामाजिक क्षेत्रमा लगानी गर्ने योजना रहेको प्रतियोगिताका संयोजक कमल पनेरुले जानकारी दिए ।