पर्यटन/संस्कृति

नयाँ वर्षमा गुराँसका राजधानीका रुपमा चिनिएका तीनजुरे-मिल्के-जलजलेमा घुइँचो

प्रकाश धौलाकोटी/तेह्रथुम । गुराँसका राजधानीका रुपमा चिनिएका तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा नयाँ वर्षको दिन आज पर्यटकको घुइँचो लागेको छ ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलका रुपमा रहेका टिएमजे क्षेत्रमा नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुगेका छन् । यो क्षेत्रको वसन्तपुरदेखि माथि टुटेदेउराली, घुर्मिसे, पाथीभरा, तीनजुरे डाँडा, पाँचपोखरी, चौकी, मंगलबार र गुफाबजार क्षेत्रमा पर्यटकको भीड लागेको छ ।

विभिन्न प्रजातिका रंगीचंगी गुराँस, उच्च पहाडी चुचुरा, विभिन्न वन्यजन्तु र देवताका आकृति कुँदिएर मनोरम बनाइएको गुराँस र ढुंगाको बगैँचा, विकसित बन्दै गरेको वसन्तपुर बजार र माथि उच्च पहाडमा रहेको पाथीभरा मन्दिर, उच्च क्षेत्रका हेरुँहेरुँ लाग्ने झुप्रा बस्ती र त्यहाँको दैनिकी आदिले पर्यटकलाई नयाँ वर्षमा टिएमजे तानेको बताउँछन् ।

बिहानैदेखि पाथीभरा मन्दिर र आसपासका यी क्षेत्रमा पर्यटकको भीड लागेको घुर्मिसेका होटल व्यवसायी सञ्जीव चोङवाङले बताए । उनका अनुसार गुराँस फुल्ने सिजन भएकाले गुराँसमा रमाउन र यहाँको मनोरम प्रकृतिसँग खेल्न नयाँ वर्षमा पर्यटकले टिएमजे क्षेत्र आउने गर्दछन् । टिएमजे क्षेत्रको तीनजुरे भ्यू–टावर चढेर पुर्वका तेह्रथुम, संखुवासभा, धनकुटा, ताप्लेजुङ, पाँचथर, इलाम र भोजपुरको एक साथ अवलोकन गर्न सकिन्छ ।

गुराँस पर्यटनको उत्कृष्ट सम्भावना बोकेको गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको तेह्रथुममा पर्ने भू–भाग तीनजुरे हो । मिल्के ताप्लेजुङ र जलजले संखुवासभा जिल्लामा पर्दछन् । पछिल्लो वर्ष यो क्षेत्रमा आउने पर्यटकको संख्या वृद्धि भइरहेको छ । यहाँ आउने पर्यटकका लागि आरामदायी यात्रा गर्न सुविधायुक्त सडक, होटल रेष्टुराँ वा अन्य सुविधा नभए पनि प्राकृतिक मनोरमको उत्कृष्ट गन्तव्य बन्दै गइरहेको स्थानीयवासी बताउँछन् ।

पर्यटक आउने वृद्धिसंगै यहाँ सुविधा पनि वर्षेनि थपिँदो छन् । पर्यटक लक्षित विभिन्न योजना सञ्चालन भइरहेका छन् । निकै कष्टका साथ यहाँ आउने गरेपनि स्वर्गीक आनन्द लिएर फिर्ने गर्छन् । नयाँ वर्षको दिन आज यहाँका डाँडाकाँडा आन्तरिक पर्यटकको आगमनले भरिएका छन् ।

होटल र पसलमा भीड छ । तीनजुरे डाँडामा रहेको पाथीभरा मन्दिरमा हजारौँ भक्तजनले दर्शन गरेका छन् । वसन्त ऋतुसँगै फुल्ने गुराँसले यहाँका डाँडाकाँडा र जंगल राताम्मे देखिन्छन् । तर पछिल्लो वर्षमा गुराँस माँसिएर कम मात्र फुल्ने गरेको भए पनि रमाउनकै लागि यहाँका डाँडाकाँडा, चिसो हावा र यहाँबाट देखिने मनोरम दृश्य नै काफी लाग्छन् ।

वन क्षेत्रमा खुला चरिचरण, गुराँसे बन फँडानी र जलवायु परिवर्तनको कारण गुराँसे बन मासिने क्रम बढेको स्थानीय प्रकाश श्रेष्ठले बताए । यो क्षेत्रमा पुर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी, झापा, मोरङ, काठमाडौँलगायत भारत र अन्य विदेशी पर्यटकको आगमन वर्षेनि बढिरहेको श्रेष्ठले बताए ।

यो क्षेत्रको पर्यटकीय सम्भावना प्रशस्तै भएको भन्दै यसलाई प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने अभियानमा आफूहरु लागेको पनि उनले बताए ।