पु.समाचार

रेडक्रसको संघीय संरचनाअनुसार सांगठानिक संरचनामा परिवर्तन

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले संघीय संरचनाअनुसार आफ्ना सांगठानिक संरचनामा परिवर्तन गरेको छ ।

आफ्नो विधानलाई संशोधन गरी संघीय संरचनाअनुसार नेरेसोले स्थानीय, जिल्ला, प्रदेश र केन्द्र गरी चार तहमा सांगठानिक संरचनामा परिवर्तन गरेको हो ।

विराटनगरमा हालै सम्पन्न नेरेसोको ४७ औँ महाधिवेशनले विधानलाई समयानुसार परिवर्तन गरेको नेरेसोका केन्द्रीय सभापति सञ्जीव थापाले जानकारी दिए ।

उनले महाधिवेशनले राज्यका विभिन्न तहका तोकिएका कार्यकारी पदमा निर्वाचित व्यक्ति, केन्द्र, प्रदेश र जिल्ला तहका प्रमुख पदाधिकारी तथा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य नेरेसोको कुनै पनि तहका कार्यसमितिमा पदाधिकारी नरहने गरी आचारसंहितासमेत जारी गरेको जानकारी दिए ।

सभाले रेडक्रसको मूल मर्मअनुसार सुरक्षित पहुँचका आठ तत्वलाई पालना गर्दै अगामी दिनमा मानवीय सेवाका सर्वोच्च कार्यमा अनवरत रुपमा आफ्ना कार्यक्रम तथा गतिविधिलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नसमेत निर्देश गरेको छ ।

११ बुँदे सो प्रस्तावमा रक्त सञ्चार सेवालाई चुस्त एवं प्रभावकारी बनाउने, विपद् व्यवस्थापनका पूर्व तयारीमा ध्यान दिने, पारदर्शिता, जवाफदेहितामा जोड दिने, निर्णायक तहमा महिला सहभागिता वृद्धि गर्दै लैजाने रहेका नेरेसोका उपमहामन्त्री हरि न्यौपानेले बताए ।

सभाले कार्यसम्पादन मूल्यांकनका आधारमा नेरेसोका उत्कृष्ट १० जिल्ला शाखामध्ये सिन्धुली, झापा र कास्कीलाई क्रमशः प्रथम, द्धितीय र तृतीय पुरस्कार प्रदान गरेको थियो । सो पुरस्कारको राशि क्रमशः २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र रहेको छ ।