देश

आशिष स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

इलाम । ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ इलामले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारबाट ढकाल पुरस्कृत भएका हुन् । पत्रकार ढकाललाई प्रदेश सांसद राम रानाले आज यहाँ आयोजित कार्यक्रममा नगद रु १० हजार र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरे ।

तत्कालीन अवस्थामा रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आएका स्व आशिष राईको नयाँ वर्ष मनाउँदा २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

उहाँकै सम्झनामा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाई नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गर्दै आएको छ ।

यसअघि सो पुरस्कारबाट रासस इलामका समाचारदाता गोविन्दप्रसाद लामिछाने, राजधानी दैनिककी कोकिला ढकाल, राजु शिवा, भीम चापागाई, बेनुप भट्टराई, तोयानाथ भट्टराई, झापाका मोहन काजी, रमेश समदर्शी, पाँचथकार गणेश साङ्पाङ, अन्नपूर्ण पोष्टकी सीता निरौला र ताप्लेजुङका आनन्द गौतम पुरस्कृत भइसकेका छन् ।