पर्यटन/संस्कृति

तराईमा सतुवाइन पर्व

विराटनगर । तराईको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत् शुरु भएको छ ।

नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बाली पनि भित्र्याउन गरिएको खुशीयालीमा ‘वैशाखी’ पर्व मनाउने गरिएको हो । आज पहिलो दिन सतुवाइन पर्वका रुपमा मनाउने गरिन्छ । पर्वका अवसरमा आज घरका देवीदेवतालाई प्रसादका रुपमा सातु चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले अनिवार्य रुपमा सातु खाने गरिन्छ । आजको दिन सातुको प्रमुखता रहेकाले नै यस पर्वलाई ‘सतुवाइन’ भनिएको हो ।
पर्वको दोस्रो दिन विधिवत् रुपमा सिरुवा पर्व मनाउने गरिन्छ । सिरुवा पर्वका दिन अर्थात् आइतबार देवीदेवतालाई प्रसादका रुपमा ‘बासी भात’ चढाउने गरिन्छ । सो बासी भात आजै पकाउनुपर्छ । चुल्होलाई लिपपोत गरी माटाको नयाँ भाँडामा गृहिणीले भात पकाएर राख्ने गर्छन् ।

मैथिल समुदायका साथै थारू, राजवंशी, झाँगड, सतारलगायत समुदायले आआफ्ना संस्कृतिअनुसार पर्व मनाउने गर्छन् । आजका दिन मैथिल समुदायले आफ्ना आँगनमा रहेका तुलसीको बोटमा एक महिनासम्म निरन्तर रुपमा पानीको व्यवस्था गर्छ ।

बाँसको दुई खम्बा गाडेर तुलसीको बोटमाथि गाग्रो झुण्ड्याउने गरिन्छ । गाग्रोमुनिको भागमा सानो प्वाल पारेर कुश पसाउने गरिन्छ । गाग्रोमा भरिएका पानी थोपा थोपा तुलसीको बोटमाथि खस्ने गर्छ । वैशाख महिनाको गर्मीबाट तुलसीको बोटलाई सुक्न नदिने उद्देश्यले गरिएको यो विधि एक महिनासम्म जारी रहन्छ । आइतबार विधिवत्रुपमा सिरुवा पर्व समापन हुनेछ ।