स्वास्थ्य

प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

विराटनगर । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको हो ।

सामाजिक विकास मन्त्रालयले बिहीबार आठबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ती प्रतिबद्धता घोषणाका लागि विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

सो अभियानको शुभारम्भ नयाँ वर्ष २०७५ वैशाख १ गते परोपकार धाममा बिहान योग शिविर सञ्चालन गर्ने र विराटनगरको कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गर्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

योग शिविरको प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङ, वातावरणीय सरसफाइ अभियानको सामाजिक विकास मन्त्री जीवन घिमिरे र मेरो वर्ष अभियानको घोषणा प्रदेश नं १ प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको छ ।

सरकारले स्वास्थ्यप्रति जिम्मेवार रहनका लागि घोषित आठवटा प्रतिबद्धतामा ‘म तनावरहित जीवन व्यतित गर्छु’ ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘म आफ्नो घर र समुदाय सफा राख्छु’ ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न’ ‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’ ‘म नियमित स्वास्थ्य जाँच गराउँछु’ ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ लगायत छन् । सो प्रतिबद्धतामा सर्वसाधारणलाई एक्यबद्धता गराउनका लागि अभियान थालिएको हो ।