पर्यटन/संस्कृति

नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

रत्ननगर, चितवन । नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ ।

नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए। अंग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने तर विक्रम संवत्को नयाँ वर्ष मनाउने क्रम हराउँदै गएको सन्दर्भमा नेपाली नयाँ वर्षका अवसरमा खाना महोत्सव आयोजना गरिएको शाक्यले बताए ।

बिहीबार साँझदेखि शुरु भएको महोत्सवको उद्घाटन भरतपुर महानगरपालिकाका प्रमुख रेणू दाहालले गरेकी थिईन् । नेवाः पुचः नारायणगढको आयोजनामा भइरहेको यो महोत्सवमा विभिन्न खानाका परिकारसहित ६० वटा स्टल राखिएका छन् भने चार वटा विशेष स्टल रहेका छन् ।
फेस्टिबलमा करीब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । ‘क्याम्पाचौर जाऔँ, नयाँ वर्ष मनाऔँ’ भन्ने मूल नाराका साथ आयोजना भएको खाना महोत्सवमा नेवारीलगायत विभिन्न जातजातिको खाना प्रदर्शन गरिएको छ । यस अतिरिक्त राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांगीतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।
यसअघि नेवाः पुचःले चितवन महोत्सवका बेला खाना महोत्सव गर्दै आएको थियो ।