खेलकुद

भारोत्तोलनमा तारादेवी पुनले राखिन नयाँ कीर्तिमान

काठमाडौँ । नेपाल प्रहरीकी तारादेवी पुनले ७५ केजी तौल समूहमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् ।

उनले काठमाडाँै जिल्ला भारोत्तोलन संघद्वारा बिहीबार आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान स्नाच, क्लिन एण्ड जर्क र कुलको कीर्तिमानमा सुधार गरेकी हुन् । पुनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ९६ केजी र कुलमा १६४ केजीको नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि उनकै नाममा स्नाचमा ६७ केजी, क्लिन एण्ड जर्कमा ९५ र कुलमा १६२ केजीको कीर्तिमान कायम थियो । उनले सो कीर्तिमान २०७० सालमा वीरगञ्जमा भएको प्रथम शालिमार खुला भारोत्तोलन च्याम्पियनशीपमा राखेकी थिइन् ।

सो स्पर्धामा नेपाली सेनाकी उषा खड्काले कुल १३९ केजी भारवहन गर्दै रजत र सेनाकै मनकुमारी कुमालले १३० केजी भारका साथ कास्य पदक पाए । यस्तै सोही तौलको जुनियरतर्फ लाखे फिजिकल फिटनेशकी जयन्ती श्रेष्ठले ९० केजी भारका साथ स्वर्ण पाइन् ।

यस्तै पुरुषतर्फको १०५ केजीमाथिको तौलमा नेपाली सेनाका पुकार गुरुङले स्नाचमा आफ्नै नाममा रहेको १२६ केजीको कीर्तिमानमा सुधार गर्दै १२७ केजी भार वहनका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले सन् २०१७ मा इरानको अहवाजमा भएको तेस्रो एफएजेआर कप आमन्त्रण भारोत्तोलन च्याम्पियनसिपमा १२६ केजीको कीर्तिमान राखेका थिए । उनले क्लिनमा १४० केजी भारका साथ कुलमा २७६ केजीका साथ स्वर्ण हात पारे । दोस्रो स्थानमा भृकुटी टोल सुधार युवा क्लबका राजीव महर्जनले कुल २०८ केजीका साथ रजत र दीपज्योति क्लबका सुभाष उपाध्यायले १९७ केजी तौलका साथ कास्य पाए ।

राष्ट्रिय कीर्तिमान कायम गर्ने प्रत्येक खेलाडीले प्रत्येक कीर्तिमानवापत रु एक हजारसमेत प्राप्त गरे । ललितपुरस्थित स्पोर्टस् हाइवमा भएको प्रतियोगिताको महिला ६३ केजी तौलमा नेपाली सेनाका मनिता श्रेष्ठ र शारदा चौधरीले स्वर्ण र रजत पाए । मनिताले १३६ र चौधरीले १३० केजी कुल भार वहन गरेका थिए ।

महिलाकै ६९ केजी सिनियरतर्फ नेपाल प्रहरीका राजलक्ष्मी थापा र जानकी बुढाले स्वर्ण र रजत पाए । थापाले कुलमा १५० केजी र बुढाले ११६ केजी भार वहन गरे । जुनियरतर्फ चितवन फिजिकल फिटनेशकी पूजा कुमालले ७० केजी भारका साथ स्वर्ण पाइन् ।

नब्बे केजी तौलमा नेपाल पुलिसकी लक्ष्मी वनले कुलमा १४९ केजीका साथ धनगढी युवा क्लबकी ज्योति चौधरीलाई पछि पार्दै स्वर्ण पाइन् । ज्योतिले १०० केजी भार वहन गर्दै रजत पाइन् । जुनियरतर्फ नेपाल व्यायाम मन्दिरकी विद्या राईले ८० केजी भारका साथ स्वर्ण पाइन् ।

प्रतियोगिताको पुरुष ६९ केजी सिनियरतर्फको खेलमा ओलम्पियन तथा साग स्वर्ण पदकधारी नेपाली सेनाका कमलबहादुर अधिकारीले स्वर्ण पाए । राष्ट्रिय कीर्तिमानको लक्ष्यसहित प्लेटफर्ममा उत्रेका अधिकारीले कुलमा २५७ केजी भार वहन गरे ।

दोस्रो भएका एपिएफका महेश चौधरीले १९९ केजी र तेस्रो भएका सेनाका जीवन तामाङले १७२ केजी भार वहन गरे । जुनियरतर्फ फिटनेश तथा अर्डरका प्रकाश केसीले कुल २२५ केजीका साथ स्वर्ण तथा वीरगञ्ज युनाइटेडका नीरज गुप्ताले ११५ केजीका साथ रजत पाए ।

सतहत्तर केजी तौलमा नेपाल प्रहरीका विकास थापाले स्वर्ण जिते । उनले प्रहरीकै ओमप्रकाश वैश्यलाई पछि पारे । थापाले कुलमा २४७ केजी र वैश्यले २१९ केजी भार उचाले । तेस्रो स्थानमा रहेका सेनाका यज्ञबहादुर सारुले २१३ केजी उचाले । जुनियरतर्फ फिटनेश एण्ड अर्डरका सुरज वैश्यले १७६ केजी उचाल्दै स्वर्ण हात पारे ।

अशोक फिटनेश इक्विपमेन्ट र हेल्थ ट्याक फिटनेश इक्वपमेण्टको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष ८५ केजी तौल समूहमा नेपाली सेनाका सुरेन्द्र श्रेष्ठले कुलमा २२६ केजी भारका साथ स्वर्ण पाए । दोस्रो स्थानमा रहेका सेनाकै दिनेश कार्कीले २०३ केजी र तेस्रो स्थानमा रहेका एपिएफका तिलक थापाले १८० केजी भार वहन गरे । जुनियरतर्फ दीपज्योति क्लबका विशालसिंह विष्टले कुलमा २१७ केजीका साथ स्वर्ण हात पारे ।

पुरुषकै ९४ केजी तौल समूहमा नेपाल प्रहरीका गगन चन्दले २२१ केजीका साथ स्वर्ण, एपिएफका सुजन विकले १६७ केजीका साथ रजत र ओम फिटनेशका अरविन्द गुप्ताले १६० केजीका साथ कास्य पाए । जुनियरतर्फ द पेम्बा क्लबका जयदीप कोजुले १८४ केजीका साथ स्वर्ण र ओम फिटनेशका सदव अमिन सिद्धिकीले १६० केजीका साथ रजत पाए ।