पु.समाचार

प्रदेश नं-७, नीति तथा कार्यक्रम माथिको छलफल शुरु

धनगढी । प्रदेश नं ७ प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिने सत्ता पक्षका प्रदेशसभा सदस्यले प्रदेशको समृद्धिका लागि छुटेका विषय नीति तथा कार्यक्रममा समेट्न आग्रह गरेका छन्।

छलफलमा भाग लिने सत्तापक्षका सदस्यले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक र प्रगतिशील रहेको भएपनि प्रदेशलाई समृद्धितर्फ लैजान समेट्नुपर्ने कतिपय विषय छुटेको, प्रदेशवासीमा तत्काल अनुभूति हुने खालका विषय नसमेटिएकाले त्यस्ता विषय समेट्न सुझाव राखे ।

विपक्षी दलका सदस्यले नीति तथा कार्यक्रम पुरातन र परम्परागत शैलीमा आएको, समेट्नुपर्ने धेरै विषय नसमेटिएको र कार्यक्रम कार्यान्वयन हुनेमा शंका रहेपनि नीति तथा कार्यक्रमलाई सही रुपमा व्यवस्थापन गर्ने सवालमा सर्मथन र सहयोग रहने बताए ।

विपक्षी दलका सदस्यले चुरे पहाड र वनजंगलको संरक्षण, विकराल समस्या बन्दै गएको नदी कटान र डुबान रोकथामका लागि केही उल्लेख नगरिएको, किसानको कृषि उपजको खरिदको व्यवस्थापन र कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रका ठोस योजना बनाई कार्यक्रममा समेट्नुपर्ने बताए ।

सत्ता पक्ष र विपक्षी महिला सदस्यले प्रदेशमा व्याप्त लैङ्गिक हिंसा, छाउपडी, छूवाछूत हटाउन, अपाङ्गता भएका व्यक्ति, बादी, दलितलगायत सीमान्तकृत समुदायको हितका लागि नीति तथा कार्यक्रममा ठोस योजना ल्याउनुपर्ने सुझाव दिए ।

नेकपा (एमाले)का अर्चना गहतराज, अमरबहादुर साउँद, कुलवीर चौधरी, चुनकुमारी चौधरी, दुर्गाकुमारी कामी, नेपालु चौधरी, पूर्णा जोशी, प्रकाश रावल र बलबहादुर सोडारी, नेपाली काँग्रेसका उमाकुमारी बादी, कर्णबहादुर मल्ल, कुमारीनन्दा बम, टेकबहादुर रैकाआउजी, डिल्लीराज पन्त, दिव्यश्वरी शाह, देवराज पाठक, भरतबहादुर खड्का र रणबहादुर रावल, नेकपा (माओवादी केन्द्र)का कुन्ति जोशी, देवकी मल्ल थापा र नन्दबहादुर साउँद तथा राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले छलफलमा भाग लिएका थिए ।

बैठकको प्रारम्भमा ७ नं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको चालु आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम टेबुल गरेका थिए । नीति तथा कार्यक्रमका प्रस्तावक एमालेका सदस्य तारालामा तामाङले ‘सरकारको नीति तथा कार्यक्रम माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्दा समर्थक माओवादी केन्द्रका सदस्य अक्कलबहादुर रावलले समर्थन गरेका थिए । प्रदेशसभाको अर्को बैठक आज बिहान ११ बजेछ ।