कृषि

मेसिनबाट गाई दुहुँदै किसान

ललितपुर । व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन् ।

एउटा दुईवटा मात्र गाई पाल्ने निर्वाहमुखी किसानभन्दा पनि धेरैवटा पाल्ने व्यावसायिक किसान दूध दुहुन मेसिनको प्रयोग गर्न थालेका पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन् ।

हातले भन्दा मेसिनले दुहुँदा चाँडो हुने र सबै दूध निखारेर आउने हुनाले किसानको आकर्षण त्यसतर्फ बढ्न थालेको हो । उनी भन्छन्, “मेसिन भित्रिएको केही वर्ष भए पनि पछिल्लो समय यसको प्रयोग ह्वात्तै बढेको छ ।”

उपभोक्तामा सजकता बढ्दै जाँदा किसानले दूध दुहुँदादेखि संकलन केन्द्रसम्म पु¥याउँदा दूध सफा बनाउन थालेका छन् । मेसिनबाट दुहुँदा दूधमा अरु फोहर मिसिन नपाउने झाको भनाइ छ । गाईको थुनमा घाउ हुने समस्यासमेत मेसिनको प्रयोगले हटाएको छ ।

उनी भन्छन, “मेसिनको प्रयोगले एकातिर सफाइ सहज भएको छ भने अर्कातिर किसानले त्यही समयमा अरु काम गर्न पाएका छन् ।”

मेसिनको प्रयोगले १० मिनेटमा दुईवटा गाई दुहुन सकिन्छ । दशवटा वा त्योभन्दा बढी गाई पाल्ने किसानका लागि मेसिनको प्रयोग उपयोगी छ । बजारमा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्ममा मेसिन खरिद गर्न सकिन्छ ।