पु.समाचार

सिटी हल निर्माण अन्तिम चरणमा

कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिले महेन्द्रनगरमा बनाउन लागेको सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ । एक दशकअघि निर्माण शुरु भएको सिटी हलको ९५ प्रतिशत काम पूरा भएको छ । रु आठ करोड ९३ लाख ५२ हजारमा निर्माणको ठेक्का दिइएकोमा हालसम्म रु सात करोड ५० लाख खर्च भएको समितिका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए ।

श्यामसुन्दर गौरी पार्वती जेभीले सिटी हल निर्माणको ठेक्का लिएको छ । पछिल्लो पटक आगामी जेठ मसान्तसम्म म्याद थपिएको छ । समितिले यसलाई अन्तिम पटक भनेर म्याद थप गरेको हो । त्यस अघिका म्याद थप गुजारिएका थिए ।

“सिटी हलको निर्माण लगभग सकिन लाग्यो, जेठभित्र समितिलाई हस्तान्तरण हुन्छ,” भट्टले भने । सिटी हलमा अहिले विद्युत्, पानी र झ्यालढोका जडान भइरहेको छ । विद्युत् लाइन जोड्ने विद्युत् कार्यालयलाई रु एक लाख ४२ हजार भूक्तानी गरिएको छ ।

ठेकेदार कम्पनीले निर्माण सम्झौतापछि अर्को ठेकेदारलाई जिम्मा दिएको थियो । सूचना अधिकारी भट्ट ढिलाइमा दुवै पक्षको कमजोरी देखिएको बताउछन् । समितिले निर्माणमा अवरोध आउनसक्ने भन्दै पाँच पटकसम्म सिटी हल निर्माणको म्याद थप गरेको थियो ।

“बाध्यतावश म्याद थप गरिएको हो,” उनले भने । पछिल्लो पटक म्याद थप अघि ठेकेदारलाई रु पाँच लाख जरिवना गरिएको छ । नगर विकास समितिले गुरुयोजना अनुसार बनाएको हल एक हजार जना अटाउने क्षमताको छ । ठूलो सभाकक्ष, दुई सय क्षमताको अर्को हल र ५०÷५० जना क्षमताका दुईवटा हल छन् ।

समितिले जग्गा बिक्री गरी सिटी हल निर्माण थालेको हो । हालसम्म झण्डै ६ सय बिगाहा जग्गा बिक्री गरिसकेको छ । “विगतमा प्रक्रिया पु¥याएर बिक्री गरिएको जग्गाबाट आएको रकम सिटी हल निर्माणमा खर्च गरिएको छ,” भट्टले भने । समितिले दुई वर्षमा बनाउने लक्ष्यका साथ २०६५ मा सिटी हल निर्माण थालेको थियो ।