पु.समाचार

कैदी/थुनुवा बिरामी हुने क्रममा एक्कासी वृद्धि

गोपालप्रसाद बराल/ बर्दिवास । महोत्तरी जलेश्वरस्थित कारागारमा कैदी/थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । गर्मी बढेसँगै कारागारका कैदी/थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको हो । श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।

कारागारले थेग्नै नसक्ने गरी कैदी/थुनुवालाई यहाँ न्यायिक निकायले पठाइ दिने गरेपछि उनीहरुको बसाइ व्यवस्थापन मिलाउन गा¥हो भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ ।

अहिले दिनहूँ नियमित उपचार लिनेकोे सङ्ख्या १२५ को हाराहारीमा रहेको कारागार प्रमुखसमेत रहेका वरिष्ठ स्वास्थ्यकर्मी शोभेन्द्र ठाकुरले बताए ।

एक सय ३५ जना क्षमता भएको सो कारागारमा अहिले झण्डै चौब्बर सङ्ख्याका कैदी/थुनुवा भएपछि बसाइ कै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको कारागार प्रमुख ठाकुरको भनाइ छ ।

कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिला कक्षमा पाँच आश्रित बालबालिकासहित ५५ र पुरुष कक्षमा ४१५ जना गरी कुल ४७० कैदी/थुनुवा छन् ।

विसं २०४२ र २०४६ सालको ऐतिहासिक आन्दोलनताका बाहेक कारागारमा अहिलेको कैदी/थुनुवाको सङ्ख्या कारागार इतिहासमै सर्वाधिक भएको कारागारको कैदी/थुनुवा अभिलेखले देखाएको छ ।

कारागारमा ठाउँको अभावसँगै सीमित शौचालय र धारामात्र हुँँदा उनीहरुलाई दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नु पर्ने एवं सुत्नबस्न नै ठाउँ नपाउँदा आफूहरुलाई निकै गा¥हो भइरहेको कैदी/थुनुवाको गुनासो छ ।

नापेर दिएको चार हात जमिनमा खाँदिएर बस्न सुत्न पर्दा आफूहरुमध्ये धेरैलाई लुतो भएको पुरुष कक्षका एकजना कैदीले बताएका छन् ।

ठाउँको अभावमा उनीहरुले नियमित सरसफाईसमेत गर्न नपाउँदा विरामीको संख्या बढ्दो छ । पछिल्लो पटक श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरुको उपचार राम्रो नहुँदा आपूmहरुलाई बिरामी बनाउन नै कारागार ल्याइएको हो की भन्न लाग्न थालेको पुरुष कक्षका अर्का एक थुनुवाको टिप्पणी छ ।

कारागारमा कैदी/थुनुवाका लागि जाडो र गर्मी मौसममा गरी दुईपटक मौसमअनुसारको लुगा दिइने कानुनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदी/थुनुवाको भनाइ छ ।

कारागार प्रमुख ठाकुरले पनि कैदी/थुनुवाको यो गुनासोलाई स्वीकार गरे । “कारागारमा दिनहुँ कैदी/थुनुवा पठाइन्छन्” उनले भने, “तर, कैदी/थुनुवा थपिएको अनुपातमा मौसमअनुसारका लुगा र उपचार खर्चभने आउँदैन ।”

कारागारमा महिला कक्षका ५५ जनाका लागि एक वटा धारा र शौचालयमात्र छ । त्यसैगरी पुरुष कक्षका ४१५ जनाका लागि चार वटा धारा र शौचालयमात्र हुँदा दिसापिसाब गर्न घण्टौँ पालो कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने पुरुष कक्षका एक पाका कैदीको गुनासो छ ।

‘के गर्नु हजुर ….! नुहाउन नपा’को कति दिन भइसक्यो’ पुरुष कक्षका करिब ६० वर्ष उमेरका एक कैदीले आफ्नो लुङ्गी उचाल्दै घाउ/खटिरा देखाउँदै भने, ‘आफैले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुने’ भो ।’

कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीथुनुवा बन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँ पटक आग्रह गरिए पनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ ।

विशेषगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पूर्पक्ष थुनुवाको सङ्ख्या निकै बढेको र धनुषा जिल्लाका न्यायिक र अर्धन्यायिक निकायले पठाउने कैदी/थुनुवाको सङ्ख्या निकै बढेकाले कारागारको भित्री व्यवस्थापन अस्तव्यस्त हुने गरेको हो ।

महोत्तरी कारागारमा अहिले रहेका ४७० कैदी/थुनुवामध्ये ६५ प्रतिशत पूर्पक्ष थुनुवा रहेका कारागार प्रमुख ठाकुरले जानकारी दिए । त्यसैगरी कुल कैदी/थुनुवाको त्यतिकै प्रतिशत नै धनुषा जिल्लाका रहेको कारागार प्रशासनले जनाएको छ ।

विसं १९१३ सालमा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार त्यसयता मर्मत सम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ । अन्य समस्यासँगै पुरानो भवनको पर्खालका इटा झर्ने र छतका सिमेण्टको टुक्रा उप्केर झर्दा किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले समेत सताउने गरेको गुणासो कारागारका कैदी/थुनुवाले व्यक्त गरेका छन् ।