पु.समाचार

प्रदेश आकस्मिक कोष सञ्चालन विधेयकलाई सहमति दिने निर्णय

पोखरा । प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आकस्मिक कोष सञ्चालनसम्बन्धी विधेयकको शैद्धान्तिक सहमति प्रदान गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेश सरकारको इ–गभरमेन्स गुरुयोजना सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिए ।

चालू आर्थिक वर्षका बाँकी समयका लागि नीति तथा कार्यक्रम सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिँदै उनले सकेसम्म वैशाख ३ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको बताए ।

सरकारले यसअघि घोषणा गरेका कार्यक्रमलाई अब आउने नीति तथा कार्यक्रममा समावेश गरिने उनले जानकारी दिए ।

प्रदेशसभाबाट बजेट पास भइनसकेको अवस्थामा तत्काल राहत, उद्धारलगायतका कामका साथै बजेटले सम्बोधन गर्न नसकेका कुनै आकस्मिक रुपमा गर्नै पर्ने कार्यक्रमका लागि पनि आकस्मिक कोष उपयोग हुने सो अवसरमा जानकारी दिइयो ।