समाचार

आपराधिक घटना बढ्न थालेको सन्दर्भमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय

रत्ननगर, चितवन । पछिल्ला समयमा चितवनमा आपराधिक घटना बढ्न थालेको सन्दर्भमा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ ।

राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी सुरक्षा समितिको बैठकले सबै सुरक्षा अंगको सहभागितामा संयुक्त टोली परिचालन गरी विशेष रणनीतिका साथ अघि बढ्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

“शान्ति सुरक्षामा सबै उपाय अपनाउने निर्णय भएको छ,” उनले भने, “अब गस्ती तथा जाँच र सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने छ ।” मंगलबार मात्रै चितवनमा भरतपुर महानगरपालिका – १० का वडाध्यक्ष अरुण पीडित भण्डारीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो ।

यस्तै गएराति मात्रै चितवनको भरतपुरस्थित कालिका कन्स्ट्रक्सनमा बम विष्फोट गराइएको थियो । त्यस्तै अघिल्लो दिन भरतपुरस्थित क्यान्सर अस्पतालका कानुनी सल्लाहकार गोकर्ण सापकोटामाथि आक्रमण भएको थियो ।

शृंखलाबद्ध रुपमा आपराधिक गतिविधि बढ्न थालेपछि विशेष सुरक्षा रणनीतिका साथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धानका प्रहरी परिचालन गरेर सुरक्षामा कडाइ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

छलफलमा नेकपा (एमाले) चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेल, नेकपा (माओवादी केन्द्र)का इन्चार्ज ईश्वरी भट्टराई, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठलगायतको सहभागिता थियो । दलका नेताहरुले वडाध्यक्षमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषी पत्ता लगाई कारबाहीको मागसमेत गरेका छन् । सो घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।