राजनीति

पदीय मर्यादा कायम गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय मर्यादालाई अक्षुण्ण राख्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

संसदीय समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मीसँग आज भएको छलफलमा उनले आफू नेकपा (माओवादी)पार्टीमा नरहेको र राजनीतिक सन्तुलन कायम गरेर सभामुखको दायित्व इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरे ।

संसद् बाहिर रहेका राजनीतिक दलका अभिव्यक्ति पनि सञ्चारमाध्यममार्फत जनसमक्ष प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले संघीय संसद्मा समाचार संकलनमा खटिएका सञ्चारकर्मीलाई सूचना प्रवाहमा सक्दो सहयोग गर्ने बताए ।

“सञ्चारकर्मीलाई कार्यसम्पादनमा असजिलो नहोस् भन्नेमा हामी सचेत छौँ, हरसंभव सहयोग गर्न संसद् सचिवालय तत्पर छ,” उनले भने ।

एक प्रश्नको जवाफमा उनले संसद् सचिवालयले सातवटा विषयगत समिति गठनको सिफारिस गरेको जानकारी दिँदै वैशाखको अन्तिम सातादेखि बजेट अधिवेशन प्रारम्भ गर्ने तयारीमा आफू रहेको बताए ।