शिक्षा

त्रिवि एलुम्नाइको सदस्यता वितरण शुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूलाई संगठित गर्दै विश्वविद्यालयको उन्नयन तथा शैक्षिक र अनुसन्धानमूलक कार्यक्रमहरू विस्तारमा हातेमालो गर्न त्रिवि एलुम्नाइ एशोसिएशन गठन गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार प्रा डा सुनिती हाडा श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

एशोसिएशनको पहिलो सदस्यता त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रदान गरिएको छ भने दोस्रो र तेस्रो सदस्यता क्रमशः शिक्षाध्यक्ष सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेतीलाई प्रदान गरिएको छ । त्यस्तै, त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमालगायत तीन दर्जन बढी एलुम्नाइहरूलाई सदस्यता वितरण भइसकेको त्रिविले जनाएको छ ।

सदस्यता ग्रहण गर्दै त्रिवि पूर्व उपकुलपति माथेमाले त्रिवि एल्मुनाइ एशोसिएशनलाई अझै धेरै संस्थागत गरेर ठोस कार्ययोजनासहित अगाडि बढेमा देश विदेशमा रहने त्रिवि एल्मुनाईहरूबाट आर्थिक एवं प्राज्ञिक सहयोग मिल्नसक्ने बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त एवं पूर्व सचिव कृष्णहरि बास्कोटाले एशोसिएशनको आजीवन सदस्यता ग्रहण गर्दै आफू पनि त्रिविको एलुम्नाई भएकाले आफू अध्ययन गरेको विश्वविद्यालयप्रति सदा अपनत्वको भावना रहने बताए ।

उनले त्रिविमा सूचनाको हकको प्रचलन र प्रवद्र्धनका लागि एलुम्नाई एशोसिएशनले कार्ययोजना ल्याए राष्ट्रिय सूचना आयोग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरण पोखरेलले सदस्यता ग्रहण गर्दै त्रिवि एलुम्नाइले त्रिविमा प्राज्ञिक अनुसन्धानमूलक गतिविधि बढाउन संस्थागत सहयोग गर्ने अपेक्षा रहेको बताए ।

त्रिवि एलुम्नाइ एशोेसिएशनले यही चैत महिनादेखि त्रिविका सबै पूर्व विद्यार्थीहरूलाई आजीवन सदस्यता खुल्ला गर्ने निर्णय गरेको तदर्थ समितिका महासचिव ऋदिश पोखरेलले जानकारी दिए । एशोसिएशनको विधानबमोजिम एशोसिएशनको अध्यक्ष त्रिवि सभाको पदेन सभासद् रहने व्यवस्था छ । त्रिवि स्थापनाको ५८ वर्षपछि त्रिविले पूर्व विद्यार्थीहरूलाई एलुम्नाइ एशोसिएशनमार्फत संगठित गर्ने र विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक एवं अनुसन्धानमूलक क्रियाकलापमा सहभागी गराउने नीति अगाडि ल्याएको त्रिवि उपकुलपति डा खनियाले बताए ।