स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा अनुसन्धानको दायरा बढाउन जोड

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले देश नयाँ संरचनामा गएकाले सोहीअनुसार स्वास्थ्यमा अनुसन्धानको दायरा बढाउनुपर्ने खाँचो भएको बताएकी छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आजदेखि यहाँ शुरु भएको चौथो ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन’लाई सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले भनिन्, ‘‘स्वास्थ्यको सम्पूर्ण बजेटको २ प्रतिशत अनुसन्धानका लागि छुट्टयाउनु पर्ने भएपनि त्यसो भएको छैन । स्वास्थ्यका योजना बनाउँदा पनि अनुसन्धान गरेर मात्र गर्ने समय भयो । अब मन्त्रालयले सेवासँगै अनुसन्धानलाई पनि प्राथमिकतामा राख्छ ।’’

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा सुशीलनाथ प्याकुरेलले नसर्ने रोगको वृद्धि, नयाँ नयाँ रोगहरूसँग सामना गर्न अनुसन्धान जरुरी भएको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का संस्थापक अध्यक्ष डा मृगेन्द्रराज पाण्डेले सन् १९८४ मा बनेको अनुसन्धान कमिटीको बदला स्वास्थ्यका बृहत विषयमा अनुसन्धान गर्न छुट्टै निकाय चाहिन्छ भनेर परिषद् स्थापना भएको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झाले सम्मेलनमा विभिन्न आठ विधामा प्रस्तुति रहने जानकारी दिए ।

उहाँले स्वास्थ्य तथा जनसंख्या विज्ञहरूलाई एउटै स्थानमा भेला गरी बदलिँदो स्वास्थ्य प्रणालीमा समयानुकूल अनुसन्धानको आवश्यकताबारे छलफल गर्न तथा जिम्मेवारीपूर्ण अनुसन्धानप्रति अभिप्रेरित गर्ने लक्ष्यअनुसार सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयका अनुसन्धाताले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ६५ वटा अनुसन्धानका मौखिक प्रस्तुति गर्नेछन् भने ६७ पोष्टरको प्रस्तुति हुनेछ । आमन्त्रित विज्ञहरूबाट संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा सञ्चालन भइरहेका स्वास्थ्य अनुसन्धानसम्बन्धी गतिविधिका बारेमा जानकारी, नेपालमा नसर्ने रोग र गरिबी जस्ता आठ विषयमा प्रस्तुति दिइने छ ।