कृषि

घाँसको बीउ उत्पादन

तुलसीपुर, दाङ । घोराही उपमहानगरपालिका–६ सौडियारका कृषक यतिखेर व्यावसायिक रुपमा घाँसको बीउ उत्पादनतर्फ लागेका छन् ।

सो वडाका १५० परिवारले सहकारी गठन गरी बर्सिम जातको घाँसको बीउ उत्पादन गरिरहेका छन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार यहाँका किसानले उत्पादन गरेको घाँसको बीउ देशभरका पशु सेवा कार्यालय तथा एग्रोभेटमार्फत बिक्री भइरहेको छ ।

नगदेबालीबाट भन्दा घाँसको बीउबाट बढी फाइदा हुने भएपछि किसानले हिउँदे बालीका रुपमा बर्सिम घाँसको खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक समूहका सचिव बिमल अधिकारीले बताए । अहिले त्यहाँको झण्डै ६० हजार हेक्टर जग्गामा घाँस खेती हुने र वार्षिक १३० क्विन्टलभन्दा बढी बीउ उत्पादन हुने गरेको छ ।

उत्पादन गरिएको बीउको माग बढिरहेको छ । केही वर्षदेखि घाँसको बीउ उत्पादन शुरु गरेका किसानले प्रतिकिलो रु दुई सयका दरले सहकारीलाई बिक्री गर्ने गरेका छन् । सहकारीले प्रतिकिलो रु २४० का दरले बिक्री गर्ने गरेको छ । बीउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नत् जातका पशुपालन गर्नेको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।