समाचार

सालको चिरान काठ बरामद

दार्खा, धादिङ । दक्षिणी धादिङको गल्छी गाउँपालिका–८ तिनघरेमा अवैध रुपमा सञ्चालित फर्निचर उद्योगबाट २७८ गोलिया (एक सय ८५ क्यु फिट) सालको चिरान काठ बरामद गरिएको छ ।

जिल्ला वन कार्यलयको टोलीले सो फर्निचर उद्योगमा अवैध रुपमा लुकाइ राखेको अवस्थामा सालका काठ बरामद गरेको हो ।

फर्निचर उद्योगका सञ्चालक चित्रबहादुर मगर भने फरार छन् । उक्त उद्योगको नजिकै अधेँरी सामुदायिक वन रहेकाले सो काठ उक्त बनकै भएको हुनसक्ने जिल्ला वन अधिकृत इमनाथ पौडेलले बताए । उनले भने, “कहाँका काठ ल्याएको भनेर पत्ता लगाउँदै छौँ ।”

फर्निचर उद्योग सञ्चालन गर्न जिल्ला वन कार्यलयबाट अनुमति लिई कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सो फर्निचर उद्योगले अनुमति नै लिएको छैन । बरामद गरिएको काठ सेक्टर वन कार्यालय गलौदीमा राखिएको छ । वन ऐन २०४९ अन्तर्गत अवैध वन पैदावार चोरी निकासी कानूनअनुसार मुद्दा प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।