खेलकुद

भक्तपुर फुटबल संघमा सुजखू

नगरकोट । भक्तपुर जिल्ला फुटबल संघका अध्यक्षमा गौतम सुजखू पुनः सर्वसम्मत निर्वाचितभएका छन् । आज भएको पाँचौँ जिल्ला अधिवेशनले नौ सदस्यीय कार्यसमिति चुनेको छ । सोअनुसार उपाध्यक्षद्वयमा रामकृष्ण प्रजापति र रवीन्द्रकुमार थापा तथा सदस्यमा योगेन्द्र खर्बुजा, सञ्चज्ञान याकामी, तीर्थ राजचल, गोविन्द कार्की, हरिराम मुस्याख्व र इन्द्रप्रसाद राजलवट रहेका छन् ।

एन्फाको विधानअनुसार निर्वाचित सदस्यबाटै संघका महासचिव र कोषाध्यक्ष मनोनयन गरिनेछ । संघका नवनिर्वाचित पदाधिकारीलाई एन्फाका उपमहासचिव सञ्जीव मिश्रले प्रमाणपत्र वितरण गर्दै नवनिर्वाचित कार्यसमितिले भक्तपुरमा फुटबल खेल र खेलाडीको विकास र विस्तारमा काम गर्ने विश्वास व्यक्त गरे ।

संघले यसअघि अधिवेशन बोलाउँदा सबै क्लबलाई आधिकारिकता नदिएको भन्दै भक्तपुरका चार क्लबले संघविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए । सो मुद्दामा जिल्ला अदालतले संघको अधिवेशन रोक्न अन्तरिम आदेश दिएको थियो । पछि मुद्दा हाल्ने क्लबले मुद्दा फिर्ता लिएपछि एन्फालाई भक्तपुर जिल्ला संघको अधिवेशन गराउन बाटो खुलेको थियो ।