पु.समाचार

निकुञ्जको हरियाली सामुदायिक वन क्षेत्रको नजिक भाले गैंडालाई तस्करले मारे..

चितवन । चितवन राष्ट्रिय निकुञ्जले शून्य चोरी शिकारको एक वर्ष पूरा गरेको छ । गत वर्षको चैत २५ गते राति निकुञ्जको बेलहट्टा हरियाली सामुदायिक वन क्षेत्रको ध्रुवघाट नजिक एउटा भाले गैंडालाई तस्करले मारेका थिए । शून्य चोरी शिकारको तेस्रो वर्ष पूरा गर्न २६ दिन बाँकी छँदा गैंडा मारिएपछि गत वर्षको वैशाख २० गते शून्य चोरी शिकारको तेस्रो वर्ष मनाउने कार्यक्रम असफल भएको थियो । त्यसअघि २०७१ सालको वैशाख ९ गते निकुञ्जमा एउटा गैंडा मारिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार तस्कर सक्रिय हुनसक्ने भन्दै रातदिन गस्ती गरिएको छ । सबैको साथ र सहयोगले शून्य चोरी शिकार वर्ष मनाउन सफल भएको भन्दै उनले यद्यपि यो समय तस्करका लागि अनुकूल हुनसक्ने भन्दै गस्ती बढाइएको बताए ।

उनले भने, “निकुञ्ज सुरक्षार्थ सेना र निकुञ्जका कर्मचारीले रातभर पालो मिलाएर गस्ती गरिरहेका छन् ।” निकुञ्जमा ५० स्थायी पोष्ट, अस्थायी ५० पोष्ट र २० भन्दा बढी घुम्ती पोष्टमार्फत् गस्ती भइरहेको उनले बताए । पैदल, साइकल, मोटरसाइकल, हात्ती, डुङ्गा र गाडीमार्फत गस्ती गरिँदै आएको ढकालले बताए ।

नेपाली सेनाले रियल टाइम पेट्रोलिङ अर्थात् गस्ती कहाँ भइरहेको छ भन्ने जानकारी दिने प्रविधि प्रयोग गरी गस्ती गरिरहेको छ । निकुञ्जको सुरक्षार्थ खटिएको बटुकदल गणका गणपति समुन्द्र थापाकाअनुसार चौबिसैघण्टा निकुञ्ज सुरक्षामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

निकुञ्ज र मध्यवर्तीका अधिकांश ठाउँलाई कुनै न कुनै उपायबाट निगरानीमा राख्ने काम भइरहेको उनले बताए । समय समयमा ड्रोनक्यामेराको समेतको प्रयोग गरी निकुञ्जको अनुगमन गरिएको थापाले बताए । संवेदनशील क्षेत्रमा थप सतर्कता अपनाइएको छ ।

निकुञ्जमा महाहन्ट अभियान मार्फत् पनि निकुञ्जको सुरक्षा बलियो बनाइएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सुराक सञ्जालमार्फत् आएका सूचनाका आधारमा निकुञ्ज क्षेत्रमा गस्ती बढाउने काम पनि भएको छ । मध्यवर्ती क्षेत्रमा गठन गरिएका मध्यवर्ती उपभोक्ता समिति, चोरी शिकार नियन्त्रण युवा जागरण अभियान र मध्यवर्ती क्षेत्रका बासिन्दाले पनि निकुञ्ज सुरक्षाका लागि सहयोग पु¥याउँदै आएको अर्यालले बताए ।

वन क्षेत्र डढेलोका कारण टाढाटाढासम्म देखिने हुँदा वन्यजन्तु असुरक्षित हुने खतरा रहन्छ । यतिबेला मुख्य रुपमा एकसिँगे गैंडा पानी खान र आहालका लागि पानीको स्रोत भएका ठाउँमा आउँने गर्दछन् । ती ठाउँमा तस्करको चलखेल हुनसक्ने हुँदा सुरक्षा निगरानी बढाइएको छ ।

फागुनदेखि जेठसम्म निकुञ्जमा चोरी शिकारको दृष्टिले उच्च जोखिम मानिन्छ । हालसम्म सबैभन्दा बढी चोरीशिकार सन् २००२ मा भएको थियो । त्यसवर्ष ३८ वटा गैंडा तस्करले मारेका थिए । त्यसयताका वर्षमा पनि अधिकांश चोरी शिकारी फागुनपछि वर्षात् अघिसम्म हुने गरेको अर्यालले बताए । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँंडा रहेका छन् ।